च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७९ मा प्रकाशित


ब्याडमिन्टन

पोखरा-कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ । त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो ।

यलम्बर राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ४५ वर्षमाथिको उमेर समूहमा डबल्स इभेण्टमा प्रथम भएका राजेश गुरुङ र शम्भु श्रेष्ठलाई सम्मान गरिएको हो । त्यस्तै एपिआई स्पोर्टस जुनियर व्याडमिन्टन च्याम्पियनमा यु–१५ दिलाशा राना र यु–११ मा निभा राई च्याम्पियन भएका थिए । उनीहरुलाई पनि संघले शनिबार एकैसाथ सम्मान गरेको हो । संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले खादा लगाई मायाको चिनो प्रदान गरेका थिए ।

पोखरामा आयोजित प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा यु–१७ की दिलाशा राना नवौं स्थानमा रहिन् । वर्षेनी नेपाल व्याडमिन्टन संघले सार्वजनिक गर्ने बरियतामा राना नेपालको यु–१७ को नवौं स्थानमा रहेकी हुन् । त्यस्तै आयुष्मा नेपाल पनि नवौं स्थानमा रहेकी छन् । यु–१७ छात्रा तर्फ सनिष भण्डारी नेपालको बरियतामा १४ औं स्थानमा आईपुगेका छन् । मिक्स डबल्स तर्फको बरियतामा भने कास्कीका विशाल खड्का र यामकुमारी गुरुङ चौथो बरियतामा रहेको समेत कास्की जिल्ला व्याडमिन्टन संघले जनाएको छ ।

संघले पहिलो पटक विभिन्न उमेर समूहको राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । आयोजनासँगै नेपाल व्याडमिन्टन संघले प्रतियोगितामा विजेताकै आधारमा बरियता प्रदान गरेको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघले चारवटा कोर्टसहितको व्याडमिन्टन हल निर्माण भएपछि पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो । त्यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिणएशियाली खेलकुद प्रतियोगिता अन्तर्गत व्याडमिन्टन प्रतियोगिता आयोजनाा गरिएको थियो । संघले अहिले प्र्रशिक्षक नै व्यवस्था गरेर व्याडमिन्टन प्रशिक्षण शुरु गरेको छ । विद्यार्थीको समयानुकुल विहान र साँझ प्रशिक्षण गराउँदै आएको छ ।