
पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए ।
पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र महिलातर्फ वडा नम्बर १८ को टिमलाई ३–० को सोझो सेटमा हराउँदै वडा नम्बर २३ दुवै टिममा प्रथम भएको हो । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले उत्कृष्ट विधागत पुरस्कार पाएका छन् । पुरुषतर्फ वडा नम्बर २० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, वडा नम्बर २३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए । वडा नम्बर १६ का विजय सुनारले प्रतियतोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार पाए । महिलातर्फ वडा नम्बर २३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, सोही वडाकी निशा भुजेल उत्कृष्ट सेटर, सबिना पौडेल उत्कृष्ट डिफेन्डर र वडा नम्बर १८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए । वडा नम्बर २३ की निशाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन् ।
पोखरा महानगर भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी थिए । प्रतियोगितामा सहभागी टिमका खेलाडी छनोट गरेर महानगरपालिकाले आफ्नो टिम बनाएको छ । फरकफरक वडाका खेलाडी छनोट गरेर पुरुषतर्फ दुई र महिलातर्फ एक टिम बनाइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । यसरी बनाइएको टिमले आगामी दिनमा हुने भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्ने उनले बताए ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने बताए । भलिबल खेलाडी उत्पादनमा प्रदेश सरकारसँग पनि सहकार्य गर्ने उनको भनाइ थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…