चौथो बुल्समेन शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा आयोजना गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७९ मा प्रकाशित


तेस्रो बुल्समेन शारीरिक सुगठन प्रतियोगितामा सहभागिहरु । तस्बिर फाईल

पोखरा-पाँचवर्षपछि बुल्समेन क्लबले चौथो सस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने जमर्कोमा जुटेको छ । क्लबको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नुना गुरुङले चौथो संस्करणको बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने सुनाए । उनले चौथो संस्करणको बुल्समेन शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने समेत घोषणा गरेका छन् ।

अध्यक्ष गुरुङका अनुसार आगामी असोजमा(२०८० सालमा) काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ । असोजमा गर्ने निर्णय भएपनि मिति भने तय नभई नसकेको उनको भनाई थियो । चौथो संस्करणमा क्लबले मेन्स फिजिक इभेण्टलाई समेत समावेश गर्ने जनाएको छ ।

तेस्रो संस्करण कोरोना संक्रमण अघि पोखरा रंगशालामा सम्पन्न गरेको थियो । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्दै आएको शारीरिक सुगठन प्रतियोगितालाई क्लबले कोरोनाले लकडाउन भएपछि आयोजना गर्न सकेको थिएन् । २०७७ सालमै आयोजना गर्ने मिति तय भएपनि कोरोनाकै कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेपछि क्लबले प्रतियोगितालाई पछि सारेको हो । चौथो संस्करणमा क्लबले शारीरिक सुगठन प्रतियोगितासँगै मेन्स फिजिक र वुमन्स फिजिक इभेण्टलाई समावेश गर्ने निर्णय गरेको छ । वुमन्स फिजिक तेस्रो संस्करणमा समेत क्लबले समावेश गरेको थियो ।

चौथो संस्करणमा आईपुग्दा क्लबले पुरस्कार राशी समेत बढाउने सम्भावना औंल्याएको छ । यद्यपी पुरस्कार रकम कति बढाउने भन्ने ठोस निर्णय नभएको भन्दै क्लब अध्यक्ष गुरुङले क्लबको बैठकपछि मात्रै पुरस्कार राशी यकिन गरिने स्पष्ट पारे । प्रत्येक तौल समूहको विजेताले पाउने पुरस्कारमा समेत परिमार्जन गर्न सकिने क्लबले जनाएको छ । संस्करणमा पुरुष तर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथि केजी तौल समूह प्रतिष्पर्धा गराइने छ । तेस्रो संस्करणमा काठमाडौंमा मिलनविक्रम सिंजापतिले उपाधि जितेका थिए । उनले नगद ३ लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।