भोलिदेखि संगम कप, संगम र सत्य युवा बीच उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७९ मा प्रकाशित


पोखरा-संगम क्लबले छिमेकी क्लब सत्य युवा क्लब(बी १३)सँग उदघाटन खेल खेल्दै आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता शुरु गर्ने छ । संगम क्लवको आयोजनामा सोमबार (भोलि) देखि आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा छिमेकी क्लब एकापसमा भिड्ने छन् । फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने छ ।

सोमबार नै शितल ज्योति क्लव र एल.जी.एशोसीयसन बीच दोश्रो खेल हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लवहरु बीच मात्र प्रतिष्प्रर्धा हुने उक्त प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडीहरु छनौट समेत गरिने भएको उनले बताए ।

प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिड फिल्डरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा एक हजार रुपैया समेत प्रदान गरिने भएको छ । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटवल प्रतियोगिता संचालन गरेको हो । प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले उदघाटन गर्ने छन् ।