
पोखरा-पोखरामा मंगलबारदेखि सुरु पाँचौं सृजना कप शुरु भएको छ । पहिलो दिन मंगलबार दिन छात्र र छात्रातर्फ ८–८ खेल खेलाईएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु पाँँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका छन् ।
छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भएको छ । इन्द्रराज्यलक्ष्मी माविलाई २५–२० र ३५–३३ सेटमा हराउँदै कालिका अघिल्लो चरणमा प्रवेश पाएको रेफ्री संयोजक गोपाल थापाले बताए । छातर्फ नै अर्को खेलमा राष्ट्रिय माविले विश्वशान्न्तिलाई २५–१६ र २५–१६ मा हरायो । भद्रकाली माविले विन्दवासिनीलाई सोझो सेटमा हरायो । भद्रकाली २५–११ र २५–२१ मा विजयी भएको हो । यस्तै अमरसिंह माविले छोरेपाटनलाई २–१ सेटमा हरायो । जसमा १९–२५, २५–२१ र २५–१० सेटको नतिजा आयो ।
राष्ट्रिय माविले कालिकालाई २५–१५ र २५–१६ सहित सोझो सेटमा पराजित ग¥यो । तालवाराहीले जनप्रकाशलाई २५–१६ र २५–१३ सेटमा हराउँदा जनप्रियले वराह माविलाई २५–२० र २५–२२ मा पाखा लगायो । पहिलो दिनको आठौं तथा अन्तिम खेलमा वराह माविले जनप्रभातलाई २५–१५ र २५–१५ मा पराजित ग¥यो । छात्रातर्फ गोगन माविले पहिलो खेल जितेको छ । उसले सृजना माविलाई २५–१९ र २५–११ सेटमा हरायो । इद्रराज्यलक्ष्मीले विन्ध्यवासिनीलाई २–१ सेटमा हराउँदा २५–१३, २२–२५ र २५–१० को सेटमा खेल टुंगियो । कन्या माविले राष्ट्रिय माविलाई २५–५ र २५–४ को फराकिलो अन्तरले हरायो । भद्रकालीले अमरसिंहलाई २५–१२, २४–२६ र २५–११ मा हराउँदा गौरीशंकरले लक्ष्मीलाई २५–१३, २५–८ सोझो सेटमा हरायो । तालवाराहीले कालिका माविलाई २५–२०, २५–११ मा हराउँदा शान्ता माविले गोगनलाई २५–६ र २५–११ सेटमा पाखा लगायो । दोस्रो दिन छात्रतर्फ पहिलो चरणकै खेल हुने छन् भने छात्रातर्फ दोस्रो चरणका खेल हुने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जनाए । गत वर्षको विजेता शान्ता मावि, भकुण्डे हो । उसले दोहोरो उपाधि जितेको थियो ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो मन्तव्यमा उनले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गरे । उनले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उनले भने, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने तथा हौसला प्रदान हुने यस्ता सबै काममा सकारात्मक सहयोग गर्नेमा आफू दृढ रहेको मुख्यमन्त्री अधिकारीले बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङले परिषद्ले खेलकुदको विकासमा विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै खेल विकाससहित प्रतियोगिताले प्रतिभा प्रस्फुटनमा सघाउ पुग्ने औंल्याए ।पोखरा वडा १५ अध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँले खेलले एक मनसँग अर्को मन जोड्न मद्दत मिल्ने बताए । कार्यक्रममा सृजना विकास केन्द्र सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
आयोजक सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले प्रतियोगिता नियमितरुपमा संचालन गर्दै जाने र आगामी दिनमा खेलाडीको हितको लागि अक्षयकोषसमेत स्थापना गर्ने बताए । उनले भलिबल एकेडेमी संचालन गर्दै लुकेर रहेको प्रतिभा उजागर गर्दै जाने बताए ।
सृजना विकास केन्द्र अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला भलिबल संघ महासचिव टंकराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन प्रतियोगिता संजोजक मीनप्रसाद भट्टराईले गरेका थिए । सो अवसरमा जनप्रिय स्कुलका विद्यार्थी नृत्य प्रस्तुत गरे ।
सृजना विकास केन्द्रले कास्की जिल्ला भलिबल संघसँग मिलेर सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल संचालन गरेको हो । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिएका छन् । तीमध्ये छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम रहेको सृजना विकास केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । छात्रछात्रा दुवैतर्फ विजेतालाई १र१ लाख, उपविजेतालाई ६०र६० हजार र तृतीय हुने विद्यालयलाई ३५र३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…