नेपालकै पहिलो प्रादेशिक रंगशाला कर्णालीमा बन्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०७९ मा प्रकाशित


निर्माणाधिन सुर्खेत रंगशाला। तस्बिर धन बस्नेत

सुर्खेत-कर्णाली निकै विकट छ । दुुर्गम छ । दुर्गमलाई सुगम बनाउनुपर्ने छ । सुगम बनाउने काम राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्ने छ । कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । त्यही आयोजनाले कर्णालीका सबै जिल्लालाई सुगम बनाउने आशा र विश्वास छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी ०८१ साल मंसिर दोस्रो साता आयोजना निर्णय भईसकेको छ । निर्णयसँगै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिसकिएको छ । पूर्वाधार संघीय संरचनापछिको पहिलो प्रादेशिक रंगशाला हो । कर्णाली प्रदेश सरकारकै लगानी निर्माणाधिन प्रादेशिक रंगशाला संघीय संरचनापछिको पहिलो हो ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा मात्रै सीमित नहुने कर्णाली प्रदेशका सदस्य सचिव विश्वमित्र संज्याल सुनाउँछन् । कर्णालीका अन्य जिल्लामा खेलकुदका पूर्वाधार बनाई दुर्गमलाई सुगम बनाउनपर्ने उनको भनाई छ । ‘खेलकुद आफैंमा खेल मात्रै होईन । पर्यटनसँग समेत जोड्नुपर्छ । त्यसैले कर्णाली प्रदेशका अन्य जिल्लामा पनि पूर्वाधार बनाई खेलकुदको माध्यमबाट जोड्ने छौं ।’ संज्याल भन्छन् ।

कर्णाली प्राकृतिक स्रोत र साधनले धनी छ । प्राकृतिक स्रोत र साधनलाई खेल पर्यटन मार्फत जोड्ने अभियान कर्णाली प्रदेशको छ । राष्ट्रिय खेलकुद परिषदले खेलकुदलाई विकेन्द्रीकरणको गर्नुपर्ने आवाज उठाउँदै आएको छ । आवाज अनुसार नै कर्णालीका सबै जिल्लामा खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्दै आयोजना गरिने उनको भनाई थियो । ‘कर्णाली प्रदेशमा खेलकुदलाई विकेन्द्रीकरण नगरी सुखै छैन् । विकेन्द्रीकरण गरेर खेललाई पर्यटनसँग जोड्छौं ’सदस्य सचिव संज्याल भन्छन—‘पर्यटनसँग जोड्नकै लागि खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्छ । कर्णालीको हकमा भने विकेन्द्रीकरणको विकल्प छैन् ।’

प्रदेशका सबैजसो जिल्लामा इण्डोर खेल लैजाने तर्फ प्रदेश खेलकुद परिषदले गम्भीर्यता देखाएको छ । आउटका खेलहरु सुर्खेतमै आयोजना गरिने छ । ‘जिल्लामा इण्डोर खेल लैजाने विषयमा छलफल भईरहेको छ ।’ उनी सुनाउँछन—‘संघीयताको मर्म अनुसार नै सबै जिल्लामा खेलकुद पुर्याउन जरुरी छ ।’ जिल्लामा खेलकुदको पहुँच पुर्याउन अत्यावश्यक छ । सीमित जिल्लामा मात्रै खेलकुद राख्दा खेलकुदको विकास नहुने समेत उनको बुझाई छ ।

प्रदेशका जुम्ला, कालिकोट,रुकुम, हुुम्ला, दैलेखमा समेत खेलकुदका पूर्वाधार निर्माण गर्ने तर्फ प्रदेश सरकारले चासो दिएको छ । जुम्लामा कभर्ड हलसँगै साईक्लिङको ट्रयाक छ । हुम्लामा पनि कभर्डसँगै हक्कीको लागि आवश्यक खेलमैदान निर्माणाधिन रहेको उनी सुनाउँछन् । कालिकोटमा भलिबलको इण्डोर कोर्ट बनाउन आवश्यक डिपिआर तयार भएको छ । दैलेखमा बहुउद्देश्यीय कभर्ड छ । रुकुममा ७० करोड रुपैयाँको लागतमा रंगशाला निर्माणको संघारमा रहेको संज्याल बताउँछन् । ‘जाजरकोटमा जग्गा प्राप्तीको प्रक्रियामा छ । जग्गा प्राप्तीपछि पूर्वाधार निर्माण गर्छौ ।’ सदस्य सचिव संज्याल आफना योजना सुनउाँउछन् । क्रिकेट रंगाशाला निर्माणको खाँचो औल्याउँदै आवश्यक जग्गा प्राप्ती बाँकी रहेको छ ।

सुर्खेतमा निर्माणाधिन प्रादेशिक रंगशालालाई प्रदेश सरकारले १ अर्ब ७० करोड रुपैयाँ छुट्टाएको छ । रंगशाला पूर्वाधार निर्माणमा संघीय सरकारले भने बजेट उपलब्ध नगराएको प्रदेश खेलकुद परिषद कर्णालीले उल्लेख गरेको छ । रंगशाला निर्माण एमए कन्स्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड(ज्वाईन्ट भेन्चर)कम्पनीले सम्झौता पाएसँगै काम शुरु गरेको हो । ‘फुटबल मैदान, ट्रयाक, बहुउद्देश्यीय कभर्ड हल र पौडी पोखरी निर्माणकै चरणमा छन् ।’ कम्पनीका प्रोजेक्ट इन्चार्ज पुरुषत्तोम बराल बताउँछन् । उनका अनुसार जेठ २०८१ भित्र निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको छ ।