
Pokhara-Asia Cup triatholan
पोखरा-आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैं छ । आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा तेस्रोे पटक हो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप र आईतबार दुवाथोलन हुने छ ।
यही चैत १८ गते शनिबार ट्रायथोलन तथा १९ गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय महासचिव युवराज सुनुवारले जानकारी दिए । अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारीक वेभसाईटमै राखिसकेको छ । कोभिड–१९ कै कारण दुईवर्ष ट्रायथोलनको इभेण्ट स्थगित गरिएको थियो ।
ट्रायथोलनको स्प्रिन्ट विधामा प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । पौडी फेवातालमा गराईने छ । दौड आम्बोट—शहीदचोक, ड्यामसाईड राष्ट्रबैंकचोक हुदैं— आम्बोटमा पुगेर टुंगिने रुट तय गरिएको छ । महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा हुने छ । दुवाथोलनमा दौड–साईक्लिङ–दौड हुने छ ।
ट्रायथोलन एशियन कपमा रोमानिया, अल्जेरिया, अष्ट्रेलिया, अष्ट्रिया, लग्जम्बर्ग, मोरक्को, जापान, भारत लगायतका देशका एथलेट्सहरु पोखरा आउने उनले जनाए । उनका अनुसार भारतीय एथलेट्सहरु आईसकेका छन् । ‘भारतबाट ३५ जना महिला तथा पुरुष खेलाडीहरु आईसकेका छन् ।’ उनको भनाई थियो । महासचिव सुनुवारका अनुसार महिला १२ र पुरुष २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
विश्व ट्रायथोलनको स्वीकृतिमा आयोजना हुने एशिया कपमा विशेष गरी विश्वका एथलेट्सहरुको सहभागिता रहने छ । विशेष गरी एशिया कपमा सहभागिता जनाउने मात्रै नभई खेलाडीहरु प्वाइन्ट संकलनको लागि पनि सहभागिता जनाउने महासचिव सुनुवारले जनाए । उनका अनुसार ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ ।
विश्व ट्रायथोलन युनियनको संयोजन तथा नेपाल ट्रायथलन संघको आयोजनामा सञ्चालित हुने ट्रायथोलन प्रतिस्पर्धामा ७० जनाले सहभागिता जनाउने छन् । महिला तर्फ २० र पुरुष तर्फ ५० खेलाडीको सहभागिता रहेको ट्रायथोलन संघले जनाएको छ । दुवाथोलनमा ३० जनाको मात्रै सहभागिता रहेको संघले उल्लेख गरेको छ । दुवाथोलनमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुने छ । सबै विजेताहरुले ४२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।