अवार्ड वितरण पारदर्शितामा जोड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३ गते २०८० मा प्रकाशित


पोखरा-पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शिता बनाउन सुझाव दिएका छन् । जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहो¥याएका छन् । उनीहरुले विगतमा अवार्ड वितरण भएपनि गुनासो रहित बनाउने तर्फ खेलकुद पत्रकार मञ्च गण्डकीले तदारुकता नदेखाएको गुनासो गरेका थिए । यद्यपी कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् ।

छलफलमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । के कारणले अवार्ड पाए भन्ने जिज्ञासा सबैको हुने भएकोले यो जिज्ञासा मेटिने गरी प्रतिभा छनोट गर्न सुझाए । कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले विगतका अवार्ड कार्यक्रमबाट पाठ सिकेर थप आर्कषक रुपमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बताए । प्रतिभा छनोट गर्दा फ्रेन्डसिप गेम हो की अफिसियल गेम हो जानकारी लिनुपर्ने सुझाब दिए । यसअघिका संस्करणमा गुनासोरहित बनाउने प्रयासमा मञ्च जुटेको थियो । यद्यपी केही गुनासाहरु अवार्डको शुरुवात देखिनै रहँदै आएको छ ।

कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले राज्यले बाँड्ने अवार्ड पुरस्कार फेयर नहुने भएपनि पत्रकारले गर्ने कार्यक्रमले सही प्रतिभा छनोट गर्ने विश्वास व्यक्त गरे । उनले हरेक तीन–तीन महिनामा अन्तरक्रिया कार्यक्रम गरेर खेल गतिविधिको बारेमा मञ्चले जानकारी लिए प्रतिभा छनोट गर्न सहज हुने बताए । पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले खेल संघबिच समन्यवको कमी हुँदा अर्काले फाइदा लिएको गुनासो गरें । अवार्ड कार्यक्रमको आयोजनाले खेल क्षेत्रमा उत्साह थपिएको सुनाए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै जीवन धान्न सक्ने अवस्था बनाउनुपर्ने बताए । कास्की जिल्ला कबड्डी संघका अध्यक्ष समेत रहेका उनले अवार्ड कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता जनाए ।

साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले छनोट समितिमा खेलसंघका व्यक्ति राख्न सुझाए । मञ्चले खेल क्लबलाई समेत समेट्न खोज्नु सकारात्मक भएको उनको भनाई थियो ।कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए । गण्डकी प्रदेशको कार्यक्रम हो भन्ने सन्देश जाने भएकोले सबै मिलेर यसलाई सफल बनाउनपर्नेमा उनले जोड दिए । नेपाल स्ट्रोङगेष्ट क्यँोकुशिन कराते संघका अध्यक्ष कृष्ण बहादुर नेपालीले डाटा संकलन समयमानै हुनुपर्ने बताए ।

कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष बसन्त गौचनले अवार्ड कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीलाई प्रोत्साहन दिने यो कार्यक्रम बृहत भएको बताए । कार्यक्रम भव्य बनाउन खेल संघले साथ दिनुपर्ने उनको भनाई थियो । उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल लगायतले पारदर्शिता बनाउने तर्फ प्रतिबद्धता जनाए । मञ्चले अघिल्ला संस्करणबाट सिकेको पाठका कारण कमी कमजोरी हुन नदिन मेहनत गर्ने प्रतिबद्धता गरे । खेल क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गर्दै आएको उनीहरुले प्रष्टाए ।

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने छ । गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.लगायतले सहयोग गरेका छन् । उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भईसकेको छ ।