मञ्चद्वारा ‘लाईफ टाईम अचिभमेन्ट’ अवार्ड प्रायोजन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ११ गते २०८० मा प्रकाशित


पोखरा-पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको छाता संगठन नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी बैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने अवार्ड अन्तर्गत मञ्चले ‘लाईफ टाईम अचिभमेन्ट २०७९’ को लागि प्रायोजन गरेको हो । प्रायोजन स्वरुप भुतपुर्व खलाडी मञ्चले खेलकुद पत्रकार मञ्चलाई नगद २५ हजार रुपैयाँ प्र्रदान गरेको छ । त्यस्तै सहारा हङकङले अवार्ड कार्यक्रमको लागि दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मञ्चका अध्यक्ष दीननाथ बराललाई नगद हस्तान्तरण गरेका हुन् ।

पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को अन्तिम तयारीमा जुटेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा उपसमिति बनाई कार्यविभाजन गर्दै आएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका राजाराम पौडेलले बताए । मञ्चले मंगलबारसम्ममा चारवटा विधाको मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धि समेतलाई आधार बनाएर तीन–तीन जनाको नाम छनोट गरेर नोमिनेसन सार्वजनिक गरिनेछ ।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भईसकेको छ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमाण्डु, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले सहयोग गरेका छन् ।