गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १२ गते २०८० मा प्रकाशित


पोखरा-कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदकसहित कास्की गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा च्याम्पियन बनेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो । कास्की नगद ३० हजार हात पारेको छ ।

गत वर्षको च्याम्पियन बागलुङ यो संस्करणमा दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेश्रो स्थान हात पारेको छ । दोश्रो भएको बागलुङले नगद २० हजार र तेश्रो हुन सफल नवलपुरले नगद १० हजार प्राप्त गरेका छ ।

मंगलबार सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको थियो । पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तेश्रो भएको छ । त्यस्तै छात्रा भलिबलमा कास्कीले उपाधि जितेको थियो । कास्कीले स्याङजालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तेश्रो भएको छ ।

एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोश्रो र स्याङजाले ४ स्वर्ण र १ कास्य पदक सहित तेश्रो भएको छ । कबड्डी छात्रतर्फक कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेश्रो भएका छन् । छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङजा तेश्रो भएका छन् ।

मार्शल आर्ट उसुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोश्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेश्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोश्रो र तेश्रो भए । यस्तै कराते तर्फ म्याग्दी जिल्ला प्रथम भएको छ ।दुई दिन सम्म चलेको प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए । जस मध्ये मार्शल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।

विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । बैशाख १५ गतेबाट काठमाण्डौमा सुरु हुने १३ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन १४ गते प्रस्थान गर्नेछ ।