
पोखरा-यही बैशाख २३ गते आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को लागि खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख तेस्रो साताको शनिबार अवार्ड वितरण गर्ने छ ।
वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।
उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी छन् । केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । किशोर स्याङजाका हुन् भने निरज र सुरज कास्कीका हुन् । मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा बैशाख २३ गते नै गरिने छ । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्चका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए ।
वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरले जनाइन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोडनेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सहयोगी भूमिका खेलेका छन् । उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गरेका छन् ।