स्पोर्टस अवार्डलाई टेल्जीको साथ, उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १४ गते २०८० मा प्रकाशित


पोखरा-सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् । अघिल्लो संस्करणमा कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यो वर्ष टेल्जी नेपालसँग सम्झौता भएपछि उत्कृष्ठ खेलाडीद्वयलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्च र टेल्जी नेपाल बीचको सम्झौता यो दोस्रो पटक हो । अवार्ड कार्यक्रमलाई गतवर्ष टेल्ज नेपालले मञ्चसँग सहकार्य शुरु गरेको हो ।

उत्कृष्ट खेलाडीले टेल्जी(टाईगर) इलेक्टिक स्कुटर प्राप्त गर्ने मञ्चले जनाएको छ । टेल्जी नेपालका कम्पनी निर्देशक सञ्जीव सिल्पकार र मञ्चका अध्यक्ष दीननाथ बराल बीच अवार्डमा टेल्जि इलेक्टिक स्कुटर प्रदान गर्ने गरी सहमति भएको छ । बजार मुल्य २ लाख १७ हजार मुल्य बराबरको उक्त स्कुटरमा कम्पनीले मञ्चलाई बिशेष छुटमा उपलब्ध गराएकोमा अध्यक्ष एवं अवार्डका संयोजक बराल कम्पनीप्रति आभारी छन् । निर्देशक सिल्पकारले कोभिड १९ को असर बजारमा अझै परेकोले आफुहरुले चाहेर पनि उक्त पुरस्कार शतप्रतिशत प्रायोजन गर्न नसकेको गुनासो गरे ।

सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिसकिएको छ । मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव पौडेलले जनाए । उक्त अवार्ड सफल पार्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड रहेका छन् ।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।