
पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाईडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष(मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गरेको छ । आगामी शनिबार पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्ड कार्यक्रममा प्याराग्लाईडिङ खेलमा पुर्याएको योगदानको कदर गर्दै थापा मगरलाई कीर्तिशेषबाट सम्मानित गरिने निर्णय गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए ।
बिहीबार अवार्ड बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ खेलाडी थापाको प्रतिस्पर्धाको दोस्रोदिन निधन भएको थियो । प्रतियोगिता दौरानमै उनको निधनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शोकमा डुबेको थियो । खेलकुद पत्रकार मञ्चले थापालाई कीर्तिशेषबाट सम्मानित गर्ने निर्णय गरेको हो । मञ्चले शनिबार हुने अवार्ड कार्यक्रममा उत्कृष्ट संघबाट कास्की जिल्ला ह्याण्डबल संघलाई सम्मान गर्ने समेत निर्णय गरेको छ ।
पोखरा रंगशालाभित्र ह्याण्डलको अन्तराष्ट्रियस्तरको कोर्ट बनेको छ । कोर्टमा आउटडोर म्याट विछ्याइएको छ । त्यतिमात्रै नभई ह्याण्डलबल संघले वार्षिक कार्यक्रम नै बनाई विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता आयोजना गर्दै आएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा स्वर्ण पदक जितेको थियो ।
आगामी शनिबार हुने अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा छ । मञ्चले सबै विधामा मनोनयन गरिसकेको छ । उत्कृष्ट संघ तथा लाईफटाईम अचिभमेन्ट अवार्डको नाम समेत सार्वजनिक गरिसकेको छ । लाईफ टाईम अचिभमेन्टबाट बक्सिङका बरिष्ट प्रशिक्षक विद्या मर्सानीलाई सम्मान गर्ने निर्णय मञ्चले गतसाता मात्रै सार्वजनिक गरेको हो । उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार भने शनिबार मात्रै घोषणा हुने मञ्चले जनाएको छ ।
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । प्रदीप खड्का र करण केसी मनोनयन भएको यो दोस्रो पटक हो । खड्का गतवर्षका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित भईसकेका छन् । यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का रहेको मञ्चले जनाएको छ ।
महिला तर्फ फुटबलर सावित्रा भण्डारी दोस्रो पटक उत्कृष्ट खेलाडीको सूचीमा परेकी हुन् । उनीसँगै आर्चरीकी रोजीना थापा मगर, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ । कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् ।
अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युक लगायतले सहयोेग गरेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…