शनिबारदेखि पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता

- पोखरा महनगर वडा नं २६ र वडा नं ३ बीच पहिलो खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ४ गते २०८० मा प्रकाशित


पोखरा-आगामी शनिबारदेखि पोखरा रंगशालामा पोखरा महानगरपालिका वडास्तरीय नकाउट फुटबल प्रतियोगिता शुरु हुने छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा शनिबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा प्रतियोगिता शुरु हुने महानगर खेलकुद विकास समितिले जनाएको छ ।

महानगर वडास्तरीय फुटबल प्रतियोगितामा पोखरामा झण्डै ६ वर्षपछि आयोजना गरिएको हो । शनिबारदेखि शुरु हुने प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरिएको छ । खेल तालिका अनुसार पोखरा महनगर वडा नं २६ र वडा नं ३ बीच पहिलो खेल हुने छ । दोस्रो खेल भने वडा नं ११ र वडा नं १५ बीच हुने छ ।

प्रतियोगितामा ३० वडाले सहभागिता जनाएको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । उनले प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदान र लामाचौरस्थित गोस्ते खेल मैदानमा सञ्चालन गरिने छ । सदस्य सचिव, महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरप्रसाद गुरुङ लगायतको टोलीको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो ।

च्याम्पियन बन्ने वडाले नगद १ लाख ५० हजार रुपैयाँ राशीसहितको ट्रफी प्राप्त गर्ने छ । उपविजेता बन्ने वडाले भने नगद १लाख रुपैयाँ प्राप्त गर्ने पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट पाँच विधा खेलाडी तथा प्रशिक्षकले भने नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महानगरपालिकाले फुटबल प्रतियोगिता आयोजना गर्न करीब १० लाख रुपैयाँ विनियोजन गरेको छ ।