क्रिकेट मैदान स्तरोन्नति गर्न बजेट माग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २८ गते २०८० मा प्रकाशित


पोखरा-संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउँदै छ । प्रदेश सरकारले ल्याउने बजेटमा पोखरा रंगशाला क्रिकेट मैदानलाई स्तरोन्नति गर्न आवश्यक बजेट उपलब्ध गराउन संघले आईतबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ज्ञापनपत्र पेश गरेको छ । आगामी सन २०२७मा यु–१९ महिला क्रिकेटको विश्वकप बंगलादेशसँग सह आयोजना गर्ने तयारी नेपाल क्रिकेट संघले गरेको जनाउँदै पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गरी बैकल्पिक मैदानको रुपमा विकास गर्नुपर्ने ध्यानाकर्षण समेत संघले गरेको छ ।

‘संघीय बजेटमा पोखराको क्रिकेट मैदानलाई सम्बोधन नहुदाँ प्रदेश सरकारबाटै बजेटको व्यवस्था गरी भईरहेको मैदान स्तरोन्नति गर्ने र नयाँ बैकल्पिक मैदान निर्माणको लागि प्रदेश सरकार समक्ष ज्ञापनपत्र पेश गरेका हौं’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्दै अन्तराष्ट्रियस्तको बनाउनुपर्छ । अर्को बैकल्पिक मैदान पनि अत्यावश्यक भईसकेको छ ।’ मैदानको स्तरोन्नति हुन नसक्दा पोखरामा अन्तराष्ट्रियस्तरका खेलहरु पोखरा ल्याउन नसकिएको सुनाउँदै अध्यक्ष सिग्देलले थपे–‘रंगशालाभित्रको मैदानलाई स्तरोन्नति गरेर अर्को बैकल्पिक मैदान बनाउन प्रदेश सरकार आफैं अगाडि सर्नुपर्छ ।’ पोखरामा बैकिल्पक मैदानसहित गण्डकी प्रदेशमा कम्तीमा तीनवटा खेल मैदानको व्यवस्था गर्नु समेत आग्रह गरिएको संघका अध्यक्ष सिग्देलले सुनाए ।

गण्डकी प्रदेशमै पोखरा रंगशाला क्रिकेट मैदान जस्तै उपयुक्त क्रिकेट मैदान अर्को छैन् । संघीय सरकारको बजेटमा समेत हेपिएपछि प्रदेश सरकारकै दायित्व हुने भन्दै मैदान बनाउन आवश्यक बजेट दिनुपर्नेमा जोड प्रादेशिक क्रिकेट संघको थियो । प्रदेश सरकारको सहभागितामा पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्नेमा जोड रहेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजूले बताए । ‘बैकल्पिक मैदानको रुपमा पोखरा–१४ छिनेडाडाँस्थित बाच्छेवुडुवामा बनाउने ध्यानाकर्षण गरायौं’ उनले भने–‘प्रदेशकै छुट्टै मैदान बनाउनुपर्छ भन्ने ध्येय छ । मुख्यमन्त्रीसहित प्रदेश सरकार सकारात्मक छ ।’

मुख्यमन्त्री पाण्डे समक्ष पेश गरिएको ज्ञापनपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व गरेर प्राप्त गरेको सफलतालाई उचित पुरस्कारको व्यवस्था गर्नुपर्ने दोहोेर्याएको छ । ‘गण्डकी प्रदेश सरकारले गत वर्ष महिला उमेर समूह विजेता बन्दा घोषणा गरिएको पुरस्कार अझै पाउन नसकिरहेको अवस्थामा पुनःयसलाई अगाडि बढाउन अनुरोध छ ।’ गण्डकी प्रदेश महिला टोलीले गतवर्ष कर्णाली प्रदेशलाई पराजित गर्दै सुदुर पश्चिम मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । उपाधि जितेर फर्किएको टोलीलाई तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडीलाई खादा लगाई सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका थिए । त्यो घोषणा केवल घोषणमै सीमित रहेको जनाउँदै कास्की जिल्ला क्रिकेट संघले खेलाडीलाई प्रोत्साहन स्वरुप घोषित पुरस्कार प्रदान गर्न प्रदेश सरकार समक्ष आग्रहसहित ज्ञापनपत्र पेश गरिएको संघले जनाएको छ ।

संघले विद्यालयस्तरीय छात्र तथा छात्राहरुको जिल्ला तहदेखि प्रदेशस्तरसम्म प्रतियोगिता सञ्चालन गर्न समेत ज्ञापनपत्र उल्लेख गरेको छ । संघले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीहरुको भविष्यलाई सुनिश्चित गर्न र खेललाई जारी राख्न प्रेरित गर्न रोजगारीको व्यवस्था गर्नुपर्ने जोड दिएको छ । ज्ञापनपत्रमा जिल्लालाई प्रतिनिधित्व गर्दैै राष्ट्रिय टोलीमा सफल खेलाडीहरु दिपेश खत्री, करण केसी(पुरुष सिनियर), समीर सेन, अर्जुन कुमाल, सुवास भण्डारी, हरि चौहान(पुरुष उमेर समूह), सृष्टि जैसी, शिला रेग्मी क्षत्री(महिला उमेर समू, एशियाड चीन), मनिषा उपाध्याय(महिला सिनियर), सिब्रिन श्रेष्ठ र सोहेल कुँवर(बन्द प्रशिक्षण यु–१६) र प्रदेशबाट किशोर महतो, दिपक डुम्रे, विज्ञान पाण्डे(बन्द प्रशिक्षण यु–१६ नवलपुर), अञ्जली विक(स्याङजा) रहेका छन् । प्रदेश सदस्य तथा संसदीय दलको उपनेता विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेचरन लगायतको उपस्थितिमा संघले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र पेश गरेको थियो ।