पोखराको खेलकुद इतिहासमा २८ अन्तराष्ट्रिय पदक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३२ गते २०८० मा प्रकाशित


पोखरा-पोखराको खेलकुद इतिहास सात दशकको छ । सात दशक अघि फुटबलको जग बसेको थियो । त्यसपछि मात्रै अन्य खेलले प्रवेश पाएको थियो । राणाकालिन समयमा फुटबलको शुरुवात भएको थियो । सेतीनदीलाई साँध मानेर सेती वारी र सेती पारी बीचको प्रतिस्पर्धासँगै फुटबलको शुरुवात भएको इतिहास छ । २००९साल ताका नै फुटबल शुरु भएको हो । देहरादूनका शिक्षक शिव थापाले पोखरामा फुटबल भित्र्याएको इतिहास भेटिन्छ । त्यसपछि नै फुटबलमा विस्तारै व्यवसायिकता शुरु भएको थियो ।

फुटबलपछि अन्य खेलको थालनी भएको थियो । खास गरी पोखरामा पृथ्वीनारायण क्याम्पसको स्थापनासँगै अन्य खेलको शुरुवात भएको थियो । २०१७ क्याम्पसको स्थापनापछि खेलकुदका पूर्वाधार तयार गरिएको थियो । क्याम्पस परिसरमै हक्कीको मैदान बन्यो । जुन अहिले पार्किङस्थलको रुपमा परिणत भएको छ । क्याम्पसमै अन्नपूर्ण रंगशाला बन्यो । फुटबल मैदानसँगै टेनिस कोर्ट निर्माण भयो । तत्कालिन समयमा पोखराको पुरानो टुडिँखेलको चौरमा क्रिकेट र हक्की खेलिएको इतिहास छ ।

कवि भूपी शेरचनसहित क्रिकेट खेल्थे । क्रिकेटको जग भने त्यतिबेला देखि नै बसेको थियो । तत्कालिन समयमा क्याम्पसका संस्थापक जर्ज जोन, डा. विरेन्द्रसिंह गुरुङ, महेन्द्र थापा, स्व. रन्जित गुरुङ लगायत शुभारम्भ गरेका हुन् । टेनिस खेलको थालनी भने क्याम्पसभित्र हार्डकोर्ट निर्माण गरेपछि शुरुवात भएको हो । २०२८÷२९ सालदेखि नै क्याम्पसभित्र हक्की, क्रिकेट र टेनिसको शुरुवात भएको थियो । भलिबल खेलको ठ्याक्कै यकिन छैन् ।

तर पोखरामा आधुनिक खेलकुदको जग भने दोस्रो राष्ट्रिय खेलकुद पछि नै हो । २०३८ सालमा नेपालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । जुन खेलकुद प्रतियोगिताले खेलजगतलाई एकत्रित बनाउने काम गर्यो । त्यसपछि पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनासँगै खेलकुदका पूर्वाधार निर्माणको काम अगाडि बढेको हो । अहिले एक वर्ष अघि मात्रै पोखरामै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुंगिएको थियो । असोज २८ देखि कार्तिक ३(२०७९ साल) सम्म आयोजना गरिएको थियो ।

सात दशक इतिहास बोकेको पोखराको खेलकुदले पहिलो पदक भने २०४१ सालमा पाएको थियो । २०४१ सालदेखि २०७६ सालसम्म आईपुग्दा पोखराले २८ वट अन्तराष्ट्रिय पदक जितेको इतिहास छ । पोखराको पहिलो अन्तराष्ट्रिय पदक जित्ने खेलाडीको सूचीमा कृष्ण थापा छन् । फुटबलका थापाले काठमाडौंमा आयोजित प्रथम दक्षिण एशियाली खेलकुद प्रतियोगिता(२०४१)मा स्वर्ण पदक जितेका थिए । २०४४ सालमा कोलकोत्ता भारतमा तेश्रो दक्षिण एशियाली खेलकुदमा रजत पदक जितेका थिए ।

२०४६ सालमा पोखराले बक्सिङमा दुई पदक जितेको छ । २०४६ सालमा चौथो दक्षिण एशियाली खेलकुद प्रतियोगिता पाकिस्तानको इस्लामावादमा आयोजना भएको थियो । जुन प्रतियोगितामा पोखराका गणेशबहादुर भट्टराई र सुरेश मल्लले रजत पदक जितेका थिए । जिल्ला खेलकुद विकास समिति कास्कीले उपलब्ध गराएको तथ्यांक अनुसार २०५० सालमा एथलेटिक्समा बंगलादेशको ढाकामा आयोजित छैटौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा गोपबहादुर अधिकारीले कास्य पदक जितेका हुन् ।

तेक्वान्दोकी सपना मल्लले तेह्रौ एशियाली खेलकुद प्रतियोगिता २०५५ थाईल्याण्डको बैैंकका कास्य पदक जितेर इतिहास लेखाउन सफल भईन् । त्यसैगरी बसन्त गौचन(रजत पदक–फुटबल,२०५६ आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता काठमाडौ), आनन्द कुँवर(रजत पदक–पौडी, २०५६ आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता काठमाडौं), मन्जु गुरुङ, एकिना गुरुङ, लक्ष्मी गुरुङ(कास्य पदक–भलिबल, २०६३ दशौं दक्षिण एशियाली खेलकुद श्रीलंका), विसन गौचन, विजय गुरुङ, अनिल गुरुङ(कास्क पदक–फुटबल, २०६३ दशौं दक्षिण एशियाली खेलकुद श्रीलंका), असिम शरेचन(कास्य पदक–आर्चरी, २०६७ एघारौं दक्षिण एशियाली खेलकुद ढाका) पुनम गुरुङ(कास्य पदक–व्याडमिन्टन, २०६७ एघारौं दक्षिण एशियाली खेलकुद ढाका), झरना गुरुङ(कास्य पदक–उसु, २०६७ एघारौं दक्षिण एशियाली खेलकुद ढाका), दिपेश खत्री(स्वर्ण पदक–क्रिकेट, २०६१ यु–१९ एसिसी कप खेलकुद प्रतियोगिता) रहेका छन् ।

त्यसैगरी प्रदीप खड्का, नविन मगर(कास्य पदक–टेनिस, १३ औं दक्षिण एशियाली खेलकुद काठमाडौं), मोनिका थापा(रजत पदक–ह्याण्डबल),मोनिका राना(रजत पदक–आर्चरी), जमुना थापा(रजत पदक–साईक्लिङ) र योगेन्द्र शेचरन(कास्य पदक–आर्चरी, २०७६ सालमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद काठमाडौं) हुन् । ‘पोखराबाट अन्तराष्ट्रिय प्रतियोगितामा समावेश भएर पदक जित्ने खेलाडीहरुको नामावली संकलन गरेका छौं’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर नेपाली(डि.बी)ले भने–‘२८ जनाको नाम संकलन गरिसकेका छौं । अरु छुटपुट छन कि खोज्दै छौं ।’

कास्कीले देशकै लागि ऐतिहासिक पदक भने प्याराग्लाईडिङले प्राप्त गर्यो । इण्डोनेसियामा आयोजित १८ औं एशियन गेम्समा प्याराग्लाईडिङको क्रस कन्ट्री विधामा नेपालले रजत पदक जित्यो । जुन नेपाली खेलकुद इतिहासमा ऐतिहासिक पदक हो । ऐतिहासिक पदक जित्नेमा कास्कीका विमल अधिकारी, युकेश गुरुङ, विशाल थापा, विजय गौचन र शुशिल गुरुङ हुन् ।