गण्डकीको खेलकुदमा ७ करोड ५५ लाख बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट सार्वजनिक गर्दै खेलकुदलाई ७ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले प्रदेशलाई खेलकुद पर्यटन केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको स्पष्ट पारे । यद्यपी अघिल्लो वर्ष पनि प्रदेश सरकारले बजेटसहितको योजनालाई कार्यान्वयनमा ल्याउन भने सकेन् ।
सरकारले पुरानै योजनालाई दोहोर्याएको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अन्तराष्ट्रियस्तरको कभर्डहलको सम्भाव्य अध्ययन, उच्च उचाई तालिम केन्द्र(हाई अल्टिच्युड टे«निङ सेन्टर), एक स्थानीय तह एक खेल मैदान, जिल्लास्तरीय र विभिन्न खेलमैदान निर्माणको योजनालाई बजेट विनियोजन गरिएको अर्थमन्त्री आलेले सुनाए ।

प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न पोखरा—३३ पशुपतिघाटमा १७५ रोपनी क्षेत्रफलको जग्गा भोगाधिकार प्राप्त गरेपनि कार्यान्वयनमा आउन सकेन् । दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको भएपनि प्रदेश सरकारकै उदासिनले केवल विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनेपनि लगानी हुनै सकेन् । सेती नदी किनारमै रहेको जग्गालाई नदी कटान रोक्नुपर्ने खाँचो थियो । नदी कटान गर्न आवश्यक पहलकदमी नहुदाँ क्रिकेट मैदान निर्माणको कार्यले गति लिन नसकेको क्रिकेटसँग सरकोर निकायले गुनासो गर्दै आएको छ ।

अहिले फेरी प्रदेश सरकारले क्रिकेट रंगशाला बजेटमा समेटेको छ । पोखरा—१४ बाच्छेबुडुवामा क्रिकेट मैदान बनाउन जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघ गण्डकीले आवश्यक पहलकदमी गर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापन पत्र बुझाईसकेका छन् । ज्ञापनपत्र अनुसार नै प्रदेश सरकारले बाच्छेबुडुवामा क्रिकेट मैदान बनाउन अध्ययन समेत गर्दै आएको छ ।

उच्च उचाईको तालिम केन्द्र बनाउने योजनाले समेत मुर्त रुप लिन सकेको छैन् । मुस्ताङको बारागुँङ(बाह्रगाँउ)मा बनाउने योजनासहित प्रदेश खेलकुद परिषद गण्डकी र सरकारका प्रतिनिधिले आवश्यक अध्ययन गरेर फर्किएका थिए । त्यसलाई पनि कार्यान्वयनमा लैजान सकेको छैन् । प्रदेश सरकारले आफनै भोगााधिकार प्राप्त जग्गामा खेल मैदान निर्माण गर्ने योजना बनाएपछि जग्गा प्राप्ती नहुदाँ बजेट वर्षेनी फ्रिज हुदैं आएको छ ।

प्रदेश सरकारले खेल्छ गण्डकी कार्यक्रमलाई निरन्तरता दिएको छ । सबैका लागि खेलकुद भन्ने नारासहित प्रदेश सरकारले विद्यालय तहदेखि नै खेलकुद गतिविधि सञ्चालन गर्दै खेलाडी उत्पादनमा जोड दिएको छ । प्रदेश खेलकुद परिषदले नै गत वर्ष एथलेटिक्समा ट्यालेन्ट हन्ट गर्दै १५ लाख रुपैयाँ खर्चिएको थियो । आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश खेलकुद परिषदले झण्डै ३० लाख रुपैयाँ बजेटबाट भलिबल खेलको लागि ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने योजना अगाडि सारिसकेको छ ।

सरकारले ओलम्पिक खेलमा सहभागिता जनाएका प्रदेशका खेलाडीलाई उच्च सम्मान गर्दै प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री आलेले सुनाए । खेलाडीको पहिचान र आत्मसम्मानका ेलागि खेलाडीलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने छ । त्यस्तै खेलाडी कल्याणकारी कार्यक्रम र खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि आवश्यक बजेट छुट्टाइएको अर्थमन्त्री आलेले सुनाए ।