म्याग्दी गण्डकी प्रदेशस्तरिय महिला भलिबल च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १६ गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा आयोजित गण्डकीप्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ । शनिबार साँझ अवेर गरी सम्पन्न भएको फाईनल खेलमा पर्वतलाई पाँचौ सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको हो ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो बनायो । फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वत माथी दवाव राख्यो । दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१७ ले जित्दै म्याग्दी विरुद्धको खेलमा पर्वत खेलमा फर्र्किदैं अग्रता लियो । तर चौथो सेट २५–१५ लिदैं म्याग्दीले उपाधि यात्रालाई कायमै राख्यो । अन्तिम तथा पाँचौ सेट १५–१० ले जित्दै म्याग्दीले उपाधि आफनो पोल्टामा हाल्यो । उपाधिसंगै म्याग्दी नगद १ लाखका साथमा ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा बागलुङ जिल्ला तेश्रो भएको छ । बागलुङले स्याङजालाई ३–१ सेटले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । स्याङजा संग भएको खेलमा बागलुङले पहिलो सेट २५–१९ ले गुमाए पनि अन्तिम तीन सेट लगातार जित्दै नगद ४० हजारको पुरस्कार राशीको हकदार बनाउन सफल भयो । बागलुङले २५–१२, २५–२३ र २५–१५ ले खेल जितेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्वतकी पुजा सेन ठकुरी घोषित भइन् भने उत्कृष्ट स्पाइकरको उपाधि म्याग्दीकी पवित्रा श्रीपाली र उत्कृष्ट सेटरको उपाधि म्याग्दीकी रेवीना घर्ती मगर बन्न सफल भए । सबै खेलाडीहरुले नगद रु ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, भौतिक पूर्वाधार तथा यातयात ब्यबस्था मन्त्री रेशमबहादुर जुग्जाली, गण्डकी प्रदेश सांसद प्रकाश बराल, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, ट्रफी तथा पदक वितरण गरेका थिए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यबस्थापनमा आयोजित प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो ।