तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १७ गते २०८० मा प्रकाशित


न्यु डायमण्ड एकेडेमीका खेलाडी स्पाईक गर्ने क्रममा । तस्बिर फाईल ।

पोखरा-महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ । तीजे गीतको रौनकसँगै पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा भलिबलको रोमाञ्चक प्रतिस्पर्धाको अवसर फेरी एकपटक दर्शकलाई हेर्न अवसर जुरेको छ ।

लामाचौरस्थित नवआर्दशले वर्षेनी तीजकै अवसरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता समेट्दै आएको नवआदर्शले गतवर्षदेखि विद्यालयस्तरीय प्रतिस्पर्धालाई हटाएको थियो । नवआर्दश सामुदायिक विकास समाजका पूर्व अध्यक्ष समेत रहेका टिम व्यवस्थापन समितिका संयोजक शुशिलकुमार श्रेष्ठले महिलाको नकआउट र पुरुषको लिगकम नकाउट हुने सम्भावना रहेको उल्लेख गरे । ‘महिलाको पाँच टिमको दर्ता भईसकेको छ’ उनले भने–‘पुरुषको विभागीय टोलीको फाईनल नहुदाँ लिगमा खेलाउने कि नकाउटमा सञ्चालन गर्ने टुंगो भईसकेको छैन् ।’

महिला तर्फ तीन विभागीय क्लबले उपस्थिति जनाउने छन् । नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल(एपीएफ क्लब) नेपाली सेना( त्रिभुवन आर्मी क्लब)सँगै बुटवलको न्यु एभरेष्ट र काठमाडौंको न्युडायमण्ड क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ बुटवलको मणिमुकुन्द, गण्डकी प्रदेश, बाग्लुङको गल्कोट भलिबल क्लबको सहभागिता रहेको छ । विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी र शसस्त्र प्रहरीको सहभागिता बारे अझै टुंगो नभएको टिम व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

महिला तथा पुरुष विजेता दुवैले समान नगद पुरस्कार पुरस्कार १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेता टोलीले १ लाख रुपैयाँ पाउने छन् । त्यसैगरी सेमिफाईलिष्ट टोलीलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिने समाजका आर्थिक व्यवस्थापन समितिका संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ भने विधागत पुरस्कार सेटर, सर्भर, ब्लकरस डिफेण्डर र स्पाईकरलाई नगद पुरस्कार प्रदान गरिने छ ।