पोखरा म्याराथनको तयारीसँगै गुरुङद्वारा प्रथम पुरस्कार प्रायोजन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २३ गते २०८० मा प्रकाशित


पोखरा-पोखरा अन्तरराष्ट्रिय म्याराथनका १८ औं संस्करणकोे तयारी शुरु गरिएको छ । आन्तरिक तयारीसँगै नगद ५ लाख रुपैयाँको पुरस्कार पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तुलकुमार गुरुङले प्रायोजन गर्ने घोषणा गरेका छन् । गुरुङले प्रथम पुरस्कार प्रायोजन गर्ने घोषणा गरेका हुन् । गुरुङ पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी (ग्राण्ड मास्टर) तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष समेत हुन् । म्याराथन आगामी फागुन ५ गते शनिबार आयोजना गरिने छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालित म्याराथन नेपालकै जेठो म्याराथन मध्येको हो । जेठो म्याराथन केही वर्ष मुख्य प्रायोजनको अभावमा स्थगित भएको थियो । म्याराथनलाई राष्ट्रिय बाणिज्य बैंकले केही वर्ष प्रायोजन गरेको थियो । वाणिज्य बैंंकले प्रायोजन छोडेपछि म्याराथन केही वर्ष रोकिन पुगेको थियो । पछिल्लो छ वर्षयता सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको छ । गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि, कृषि बिकास बैंक लिमिटेडे, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक तोकेको छ ।म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ । म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट टोली पोखरा आउने अध्यक्ष पराजुलीले जानकारी दिए । उनी मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भईसकेको छ । अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुगेको दावी गरे । उनले भने–‘ म्याराथन आयोजनाले पर्यटन प्रवद्र्धनमा अहम भूमिका खेलेको छ ।’ १८ औं संस्करणमा ५० भन्दा वढि देशका धावक पोखरा आउने विश्वास अध्यक्ष पराजुलीको छ ।

पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो । विश्वका ठूला शहरमा आयोजना हुने म्याथन जस्तै पोखरा म्याराथन संधै चर्चामा रहेको अध्यक्ष पराजुलीले बताए ।१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भने पुरस्कार राशीमा थपघट नगरिएको मञ्चले जनाएको छ । पुरुष म्याराथन(४२.१९५ किलोमिटर), महिला हाफ म्याराथन, १० किलोमिटर खुल्ला, छात्र तथा छात्रा ५ किलोमिटर, ह्वीचियर दौड, दृष्टिविहीन दौड लगायतका इभेन्टहरुलाई मञ्चल समावेश गर्दै आएको छ ।