गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित


पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले एक पालिका एक खेलमैदान निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो । प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद रहेको परिषदले जनाएको छ ।

प्रदेश सरकारको एक पालिका एक खेल मैदान निर्माण योजना अनुसार नै प्रस्ताव आह्वान गरिएको परिषदले जनाएको छ । प्रदेश सरकार गठनसँगै प्रत्येक पालिकामा खेलमैदान बनाउनुपर्ने भन्दै योजना अघि सारिएको थियो । ‘एक पालिका एक खेल मैदान बनाउने प्रदेश सरकारको योजना हो’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने–‘एक पालिका एक खेल मैदानलाई २५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।’ कास्कीमा पोखरा महानगरपालिका तथा चार गाँउपालिका छन् । महानगरभित्र व्यवस्थित तीनवटा खेल मैदान छन् । पोखरा रंगशाला, पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदान, भण्डारढीक खेल मैदान र पोखरा गोस्ते खेल मैदान छन् । पोखरा रंगशाला बाहेक भण्डारढीक खेलमैदानमा बहुउद्देश्यीय कभर्ड हल निर्माणाधिन अवस्थामा छ । बजेटकै अभावमा अलपत्र छ । त्यस्तै गोस्ते खेल मैदानमा भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदाँ प्यारापिटसहितको भीआईपी भवनले अझै पूर्णता पाउन सकेको छैन् ।

अन्य गाँउपालिकामा भने खेलकुद पूर्वाधारको लागि फराकिलो जग्गा छैन् । यद्यपी उपलब्ध भएका जग्गामा गाँउपालिकाले खेलमैदान बनाउन शुरु गरिसकेका छन् । ‘काँडे खेलमैदानलाई पूर्णता दिने योजनामा छौं’ कास्कीको अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले भने–‘जमिन सम्याउन १२ लाख रुपैयाँ खर्चिसकिएको छ ।’ उनका अनुसार मैदान सेभेन ए साईड खेल्न मिल्ने मैदान तयार हुने छ । ‘परिषदको प्रस्ताव आह्वान अनुसार हामीले काँडे खेल मैदान बनाउने प्रस्ताव पठाउँदै छौं’ उनको भनाई थियो । पछिल्लो समय राष्ट्रपति रनिङशिल्ड प्रत्येक गाँउपालिकाले आयोजना गर्नुपर्छ । गाँउपालिकाबाट जिल्ला हुदैं प्रदेशमा प्रतिस्पर्धा गरेर मात्रै प्रदेशको टिम तयार हुने छ । प्रदेशको टिमले राजधानीमा आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने छ । गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने खेलकुद निर्देशिका बनाइएको छ ।त्यही निर्देशिका अनुसार प्रत्येक पालिकाले राष्ट्रपति रनिङशिल्ड आयोजना गरेर आफनो टिम तयार गर्दै आएका छन् ।

कास्कीको मादी गाँउपालिकाले पनि भलिबल कोर्टसहितको सेभेन ए साईडको खेल मैदान बनाउन तल्लिन छ । झण्डै १७ रोपनी क्षेत्रफलमा फुटबल मैदानसहित भलिबल कोर्ट बनाउन झण्डै एक करोड रुपैयाँ खर्च गरिएको गाँउपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले बताए । ‘मादी खेल मैदानलाई पूर्णता दिने योजनामा छौं । त्यसको लागि आवश्यक प्रस्तावना तयार गर्दै छौं’ उनले भने–‘परिषदले दिने २५ लाखबाट अपुरो पूर्वाधारलाई पूर्णता दिईने छ ।’ उनका अनुसार भैंसेमा मादी गाँउपालिकाले खेल मैदान बनाईरहेको छ । अघिल्लो गाँउपालिकाको कार्यसमितिले खेल मैदान निर्माण शुरु गरेको थियो ।