पोखरा-कास्की जिल्ला फुटबल संघले आगामी मंसिर २० गते सी लाईसेन्स प्रशिक्षक कोर्ष गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यक्रम अन्तर्गत सी लाईसेन्स प्रशिक्षक कोर्ष आयोजनाको जिम्मेवारी कास्की जिल्ला फुटबल संघले पाएको हो । यस अघि एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई प्रशिक्षक कोर्षको जिम्मेवारी थमाएको थियो ।
एन्फाले प्रदेश फुटबल संघ गण्डकीलाई जिम्मेवारी दिएपनि एएफसीबाट स्वीकृति नहुदाँ कोर्ष कार्यान्वयनमा आउन सकेको थिएन् । एन्फाकै अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रशिक्षक कोर्ष अन्यौलमा परेको थियो । केही दिन अघि मात्रै हेटौडामा सम्पन्न भएको विशेष अधिवेशनले एन्फा अध्यक्ष नेम्वाङको पक्षमा विश्वासको मत प्राप्त भएपछि कोर्षले नयाँ मोड लिएको हो । कोर्षको जिम्मेवारी कास्की जिल्ला फुटबल संघलाई दिइएको हो । कास्की जिल्ला फुटबल संघले अधिवेशवन अघि नै सी लाईसेन्स प्रशिक्षक कोर्षको लागि मागसहित निवेदन पेश गरेको थियो । निवेदनै आधारमा एन्फाले कास्की जिल्ला फुटबल संघलाई आगामी मंसिर २० गते कोर्ष गर्ने जिम्मेवारी सुम्पिएको हो । एन्फालाई आर्थिक भार नपर्ने गरी कोर्षको कार्यक्रम गर्न स्वीकृति दिएको हो ।
कोर्षमा २४ जनाले सहभागिता जनाउन पाउने छन् । राष्ट्रिय खेलाडी, डी लाईसन्ेस प्राप्त प्रशिक्षक(कम्युनिटी कोर्ष गरेकोले) सहभागिता जनाउन पाउने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए । देशभरका सबै खेलाडी तथा कम्युनिटी कोर्ष गरेकाहरुले पाउने उनको भनाई थियो । खास गरी गण्डकी प्रदेशका जिल्लाहरुलाई प्राथमिकता दिईने उनले सुनाए । कोर्ष एकहप्ताको हुने छ । प्राविधिक रुपमा दक्ष, फिजिकल फिटनेस लगायतमा पास हुनुपर्ने प्रावधान रहेको छ । पास भएकाहरुले मात्रै लाईसेन्स पाउने उनले बताए । कोर्ष दुईचरणमा हुने छ ।