नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा बृद्धि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ६ गते २०८० मा प्रकाशित


नेपालगन्ज-नवौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार वृद्धि गरिएको छ । नवौं धारा नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजारबाट पुरस्कृत हुनेछन् । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिनेछ ।

हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५÷५ हजार नगदले पुरस्कृत हुनेछन् । त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना हुँदैछ । यसमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरसँग सहकार्य गरिएको छ । नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।