
पोखरा-रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको बागमती प्रदेशले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल लक्ष्य दिएको थियो । ओपनर सुभ कन्साकार ४ रनमै पभेलियन फर्किएपछि बागमतीको इनिङलाई गौतम र पाण्डेले सम्हाल्दै उच्च स्कोरको योगफल तयार पारे ।
५९ बल खेल्ने क्रममा गौतमले १० चौका र २ छक्का हिर्काउँदै ८२ रनमा आउट भए । अघिल्लो दिन डकआउट भएका पाण्डेले दोस्रो दिन भने अर्जुन चनराको बलमा आउट हुनु अघि ३८ बल खेल्दै ७० रनको पारी खेले । उनको व्याटबाट चार चौका र छ छक्का निस्कियो । दुवैले दोस्रो विकेटको लागि १४३ रनको साझेदारी गरेका थिए । प्रतिश जिसी भने १२ रनमा नटआउट रहे । सन्दीप लामिछाने भने दिनेश अधिकारीको बलमा बोल्ड हुन पुगे । पहिलो बल फेस गर्न क्रिजमा पुगेका लामिछाने शून्यमै पभेलियनको बाटो फर्किएका थिए । दिनेश अधिकारीले ३ विकेट लिए । कर्णालीले शुक्रबार बागमतीसँगको प्रतिस्पर्धामा निकै फितलो फिल्डिङ गर्यो । हातमै आएको क्याचलाई समेत फुत्काएर जीवनदान दिएपछि कर्णालीले स्कोर बोर्डमा विशाल लक्ष्य देख्नुपर्यो ।
जवाफी व्याटिङ थालेको कर्णाली भने ९९ रनमा अलआउट हुन पुग्यो । सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य पछ्याउन निकै सकस भएको थियो । ३.३ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ४ विकेट लिए । ओपनर एवं कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रनमा इशान पाण्डेको बलमा सन्दीप लामिछानेको हातबाट क्याच भए ।
अर्का ओपनर अर्जुन घर्ती पनि २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा पभेलियन फर्किए । सन्दीप लामिछानेको बलमा विकेट किपरले स्टम्पिङ आउट गरे । विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे । केवल १७.३ ओभर मात्रै खेलेको कर्णालीका सातजना व्याटर भने दोहोरो रनका आँकडाबाट बन्चित भए । बागमतीका दिपेश श्रेष्ठले २ विकेट लिए । एक विकेट समेत लिएका बागमतीका इशान पाण्डे प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…