सशस्त्रमाथि गण्डकीको रोमाञ्चक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ८ गते २०८० मा प्रकाशित


फाईल तस्बिर

पोखरा-अन्तिम दुई बल बाँकी हुदाँ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको ३ बलमा जितको लागि ४ रनको खाँचो थियो । अन्तिम ओभरमा लगातार दुई विकेट गुमाएपछि धर्मराएको गण्डकी प्रदेशको स्ट्राईकमा अमृत गुरुङ थिए । गुरुङले फेस गरेको पहिलो बलमा अर्जुन ऐरीलाई सिधा छक्का प्रहार गर्दै शसस्त्र प्रहरी बलमाथि केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सनसनीपूर्ण जित निकाले ।

सशस्त्र प्रहरीले दिएको १०२ रनको लक्ष्यलाई गण्डकी प्रदेशले पुरा गर्न निकै सकस व्यहोर्यो । अन्तिम ओभरमा कप्तान विपिन खत्री र सन्दीप क्षत्रीको विकेट गुमेपछि खेलमा गण्डकीको जित्ने सम्भावना कमजोर बनेको थियो । अभिषेक थापा अन्तिम ओभरको तेस्रो बलमा एक रन लिएर अमृत गुरुङलाई स्ट्राइक दिएका थिए । गुरुङले सिधा छक्का प्रहार गर्दै गण्डकीलाई महत्वपूर्ण जित मात्रै दिलाएनन्, घरेलु मैदानमा विभागीय टोलीमाथि रोमाञ्चक जित आत्मसात गराए ।

टस हारेर व्याटिङमा उत्रिएको सशस्त्र प्रहरी बलले १८.४ ओभर खेल्दै १०१ रनमा अलआउट भएको थियो । तीन ओभरमा १७ रनको अवस्थामा सशस्त्रले महत्वपूर्ण दुई विकेट गुमाएको थियो । आशिफ शेखलाई १२ रनमा गुमाएको थियो । कप्तान विपिन खत्रीले आफनो दोस्रो ओभरको पाँचौ बलमा एलबीडब्लु धरापमा पारे । लगत्तै सन्दीप जोरा पनि विपिनकै बलमा बोल्ड हुन पुगे । ओपनर प्रदीप ऐरीले इनिङ सम्हल्ने प्रयास गरेपनि सफल भने हुन सकेनन् । उनी कमल परियारको बलमा एलबीडब्लु आउट भए । ऐरीले २० रन बनाउन २३ बल खेले । भुवन कार्की र सुमित महर्जन समान १४÷१४ रन बनाए । गण्डकीका लागि कप्तान विपिन खत्री, कमल परियार, अमृत गुरुङ र चन्द्र पौडेलले समान २ विकेट लिए । अमृत खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

१०२ रनको लक्ष्य पछ्याएको गण्डकीले अन्तिम दुई बल बाँकी छदाँ ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । झिनो लक्ष्य भएपनि सशस्त्र प्रहरीले अन्तिम ओभरसम्म धकेल्यो । मुस्कान थापा र दिनेश बुढामगरले तेस्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै जित तर्फ डोहोर्याएका थिए । मौसम ढकाल र अमर राउटेलाले क्रमश १० औं ओभरमा १६ रन र ११ औं ओभरमा ११ रन खर्चिएपछि गण्डकीलाई केही सहज भएको थियो । तर भुवन कार्की र अविनाश बोहोराको कसिलो बलिङले लक्ष्य पछ्याउन गण्डकीलाई निकै संघर्ष गर्नुपरेको थियो । दिनेश बुढा मगरले २४ रन बनाए । ३३ बल खेल्दै २ चौका र १ छक्का हिर्काए । मुस्कान थापाले २५ रन बनाउने क्रममा २३ बल खेल्दै ४ चौका हिर्काए । अभिनाश बोहोराले दुई विकेट लिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा शुक्रबार भएको पहिलो खेलमा बागमती प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको बागमती प्रदेशले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल लक्ष्य दिएको थियो । ओपनर सुभ कन्साकार ४ रनमै पभेलियन फर्किएपछि बागमतीको इनिङलाई गौतम र पाण्डेले सम्हाल्दै उच्च स्कोरको योगफल तयार पारे ।

५९ बल खेल्ने क्रममा गौतमले १० चौका र २ छक्का हिर्काउँदै ८२ रनमा आउट भए । अघिल्लो दिन डकआउट भएका पाण्डेले दोस्रो दिन भने अर्जुन चनराको बलमा आउट हुनु अघि ३८ बल खेल्दै ७० रनको पारी खेले । उनको व्याटबाट चार चौका र छ छक्का निस्कियो । दुवैले दोस्रो विकेटको लागि १४३ रनको साझेदारी गरेका थिए । प्रतिश जिसी भने १२ रनमा नटआउट रहे । दिनेश अधिकारीले ३ विकेट लिए । कर्णालीले शुक्रबार बागमतीसँगको प्रतिस्पर्धामा निकै फितलो फिल्डिङ गर्यो । हातमै आएको क्याचलाई समेत फुत्काएर जीवनदान दिएपछि कर्णालीले स्कोर बोर्डमा विशाल लक्ष्य देख्नुपर्यो ।

जवाफी व्याटिङ थालेको कर्णाली भने ९९ रनमा अलआउट हुन पुग्यो । सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य पछ्याउन निकै सकस भएको थियो । ३.३ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ४ विकेट लिए । ओपनर एवं कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रनमा इशान पाण्डेको बलमा सन्दीप लामिछानेको हातबाट क्याच भए ।

अर्का ओपनर अर्जुन घर्ती पनि २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा पभेलियन फर्किए । सन्दीप लामिछानेको बलमा विकेट किपरले स्टम्पिङ आउट गरे । विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे । केवल १७.३ ओभर मात्रै खेलेको कर्णालीका सातजना व्याटर भने दोहोरो रनका आँकडाबाट बन्चित भए । बागमतीका दिपेश श्रेष्ठले २ विकेट लिए । एक विकेट समेत लिएका बागमतीका इशान पाण्डे प्लेयर अफ दि म्याच घोषित भए ।