गण्डकी पराजित हुदाँ एपीएफ सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०८० मा प्रकाशित


पोखरा-लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ । आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो । सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकी लुम्बिनीसँग हार व्यहोर्दै बाहिरियो । सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । नेट रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो ।

मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा लुम्बिनीले गण्डकीलाई मध्यम लक्ष्य दिएको थियो । ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य प्रस्तुत गर्यो । यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन् । दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए । उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो ।

ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो । अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो । भण्डारीले १६ रन बनाए । २२ बल खेल्दै ३ चौका हिर्काए । सुनारले २३ रन बनाउन २१ ब्ल खेले । २ चौका र १ छक्का हिर्काए । नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे । गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए ।

गौरभ विक र किरण पौडेललाई दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो । दिनेश बुढामगरले १३ रनको स्कोर बनाए । कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो । कमल परियार ११ रनमा आउट भए । मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए । लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए ।