पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन, सशस्त्रद्वारा उपाधिमा ह्याट्रिक

- सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना र टिपटपका फकर उद्धिन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ६ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश भलिबल संघ तेस्रो पटक टाईगर कप भलिबल प्रतियोगिताको उपाधि जित्नबाट चुकेको छ । घरेलु कोर्टमा दर्शकको समर्थन पाएको गण्डकीले पहिलो पटक फाईनलमा प्रवेश गरेको हेल्प नेपाल स्पोर्टस क्लबको चुनौतिलाई पन्छाउन सकेन् । चुनौति पन्छाउन नसक्दा गण्डकीले तेस्रो पटक उपाधिबाट विमुख रह्यो ।

हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी थिए । गण्डकीमा तीन भारतीय खेलाडी थिए । गण्डकीले पहिलो पटक भारतीय खेलाडीलाई टोलीमा समावेश गरेको थियो । हेल्प नेपालको पाकिस्तानी खेलाडी भने नियमित प्रतियोगितामा टोलीमा समावेश हुदैं आएका छन् । नियमित खेल्दै आएका पाकिस्तानी खेलाडीको उत्कृष्ट प्रदर्शनमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै पोखरामा उपाधि उचाल्दै नयाँ च्याम्पियन बन्यो ।

पहिलो दुई सेट हेल्प नेपालले आफनो पक्षमा पार्दै सहज जितको खुशी मनाउने संघारमा थियो । तर तेस्रो सेट गण्डकीले जित्दै खेलमा फर्किने प्रयास देखायो । तेस्रो सेट जितेपछि दर्शकमा पनि खुशी छायो । तर चौथो सेटमा कमजोर प्रदर्शन गरेपछि गण्डकीले उपविजेतामा चित्त बुझायो । खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै दवाबमा राख्यो । तेश्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२४ ले जित्दै कमब्याक गर्यो । तर चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै टाईगर कपको चौथो संस्करण उचाल्दै पोखरामा पहिलो उपाधि लेखायो ।

च्याम्पियन भएसंगै हेल्प नेपाल स्पोर्टस क्लबले नगद रु ५ लाख ५५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता गण्डकीले नगद रु २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । शनिबार नै सम्पन्न तेश्रो स्थानको खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई सोझो ३–० सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३, दोश्रो सेट २५–२१ र तेश्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरे संगै नगद रु १ लाख २५ हजार ५५५ को हात पारेको छ ।

प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन घोषित भएका छन् । फकर उद्धिन पाकीस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गरे । विद्यागत रुपमा उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, सर्भरमा एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट न्यू डायमण्डकी सलिना श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिप टप हेल्प नेपालका पाकीस्तानी खेलाडी मजहर अली, सोही टिमका पाकीस्तानी खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दिपक थापा घोषित भए । त्यसै गरी उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आङ्गामुथु घोषित भए भने पुरुष तर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।

गत माघ १ गतेबाट सञ्चालित चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लबस्तरिय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाएका थिए ।

बिजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपानेलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।