दर्शकको उपस्थितिले हौसला थपेको भलिबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०८० मा प्रकाशित


पोखरा-खेलकुद आफैमा उर्जाशिल हो । खेल्ने र हेर्ने दुवैलाई उर्जा थप्ने खेलकुद नै हो । दुईमत छैन् । अर्को खेलकुदको लागि उर्जा भर्ने काम दर्शकले गर्छन् । आयोजकलाई उर्जा पनि दर्शकको उपस्थितिले गर्छ । चौथो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताको फाईनलमा दर्शकको उपस्थितिले आयोजकलाई हौसला थप्यो नै पोखरालाई स्पोर्टस टुरिज्म सिटी बनाउने अभियानलाई सार्थक समेत बनायो ।

पोखराको भलिबल कोर्टमा इतिहासमै पहिलो पटक यतिधेरै दर्शकको उपस्थिति भएको थिएन् । दर्शकले कोर्टलाई चारैतिरबाट घेरेका थिए । उभ्यिएर भएपनि भलिबल हेर्न दर्शक लालायित बने । चार देशका खेलाडीको उपस्थितिले पनि दर्शकलाई भलिबल कोर्टसम्म डोहोर्यायो ।
श्रीलंकाको आर्मी टोली सहभागि थियो । हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीलाई कोर्टमा उतार्यो । गण्डकी प्रदेश भलिबल संघले पनि आफुलाई अब्बल बनाउन तीन भारतीय खेलाडीलाई समावेश गरेको थियो । विदेशी खेलाडीको उपस्थितिले चौथो टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको रौनकता थप्यो । प्रतिस्पर्धात्मक बन्यो ।

साविकको गण्डकी अञ्चल भलिबलको उर्वर भूमी नै हो । पश्चिमाञ्चल हुदैं अहिले गण्डकी प्रदेश बनेको छ । प्रदेश बनेपनि भलिबलको उत्साहमा कुनै कमि छैन् । महिला तथा पुरुष भलिबलमा एकछत्र राज थियो । त्यही एकछात्र राजलाई टाईगर ग्रुप अफ पोखराले भलिबल आयोजना गर्दै आत्मसात गर्यो । प्रतियोगितालाई व्यवस्थित बनायो ।

प्रतियोगिता आयोजनाको समय पनि निकै रमाईलो । माघको पारिलो घाममा प्यारापिटमा बसेर हेर्न पाइने, त्यसैले पनि दर्शकको उपस्थिति अपेक्षाकृत भन्दा बढी रह्यो । दर्शक पनि उत्कृष्ठ खेलकुद प्रतियोगिता हेर्न लालायित छन् । तर पोखरामा गतिला प्रतियोगिता खासै हुदैनन् । दर्शकको खेलकुद प्रतिको मोहलाई टाईगर ग्रुपले पुरा गरिदिएको छ ।

स्पोर्टस आफैमा अनुशासित हो । दर्शकको उपस्थितले आयोजकलाई मात्रै नभई खेलाडीलाई पनि हौसला थपिन्छ । शनिबार भएको फाईनलमा दर्शकको उपस्थितिले खेलकुदप्रतिको क्रेजलाई झल्काईदिएको छ । टाईगर ग्रुपले २०७७ सालमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्यो । आयोजना गर्दा चुनौति र दबाव थिए । तर पहिलो संस्करणमै भलिबलका दर्शकको उपस्थितिले आयोजकलाई निकै हौसला थप्यो ।

‘२०७७ सालमा आयोजना गर्दा चुनौति थियो । तर दर्शकको उपस्थितिले हामीलाई थप हौसला, प्रेरणा र उर्जा थपियो ।’ टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले भने–‘चौथोसम्म आईपुग्दा दर्शकको साथ र माया अझै बढ्दै गएको छ ।’ टाईगर ग्रुपका सबैजसो भलिबलमै आवद्ध छन् । अध्यक्ष शर्मा नेपाल भलिबल संघका सल्लाहकार हुन् । पदाधिकारी पनि भलिबलकै विभिन्न पदीय जिम्मेवारीमा छन् । सबैजसो भलिबलमै आवद्ध भएकोले पनि ग्रुपले भलिबललाई प्राथमिकतामा राखेको हो।

दर्शकको उपस्थितिलाई नियाल्दा पोखरा रंगशालाको कोर्ट पनि सानो भईसकेको छ । सिमेन्टको प्यारापिटसँगै अस्थायी प्यारापिट समेत निर्माण गरिएको थियो । दर्शकको आगमनले दुवै प्यारापिट साँघुरो हुन पुग्यो । कोर्टलाई अझै व्यवस्थित बनाउनुपर्ने देखियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि फाईनलमा दर्शकको उपस्थितिलाई नियाल्दै कोर्टलाई व्यवस्थित गर्नुपर्ने तर्फ इंकित गरे ।

महानगरले पनि खेलकुदमा लगानी गर्नुपर्ने सन्देश भलिबलमा उपस्थित दर्शकले दिएका छन् । गण्डकी प्रदेशकै भलिबलमा उर्वर भूमीमा आवश्यक लगानी गर्नुपर्ने दबाव पनि दर्शकको उपस्थितिले दिएको छ । यद्यपी आयोजकले पनि दर्शकलाई सिट क्षमता भन्दा बढी टिकट विक्री गरेर उभ्भिएर हेर्ने समेत नमिल्ने अवस्था सृजना गर्नु भने गलत हो ।