उदघाटनमै थ्रीस्टारको सामना गर्दै सहारा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०८० मा प्रकाशित


पोखरा-सहारा क्लबले उदघाटन खेलमै थ्रीस्टार क्लबसँग खेल्दै २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । दुवै टोलीले जितको खोजीमा रहने छन् । यद्यपी थ्रीस्टारले उदघाटन खेल जित्दै सहारालाई घरेलु मैदानमा निराश बनाउने लक्ष्यमा हुदाँ आयोजक सहारा क्लबले पनि उत्कृष्ट नजितासँगै क्वार्टरफाईनल खेल्ने अभिलाषा बोकेको छ ।

क्लबले आफनै एकेडेमीसहित राजधानीका खेलाडीलाई टोलीमा समावेश गरेको छ । कप्तान सुशिल लामाले गर्ने छन् । गोलकिपरको भूमिकामा सुदुर पश्चिमका टेकेन्द्र थापा देखिने छन् । अमृत तामाङ, पासाङ(काठमाडौं), आशिष गुरुङ(बुटवल)सहित मुकुन्द निउरे, भागवत चौधरी, अनिष लिम्बु, लक्ष्मण रुचाल(वालिङ), सन्तोष शाही, अभिषेक रानामगर तथा विशाल नेपालीलाई समावेश गर्दै सहारा क्लबले टोली तयार गरेको छ । जुन टोलीले थ्रीस्टारको चुनौतिलाई पन्छाउने योजनामा छ ।

दोस्रो दिन त्रिभुवन आर्मीले राईजिङ स्टार क्लबसँग खेल्दै गोल्डकपको यात्रा शुरु गर्ने छ । आर्मी पोखराको मैदानमा सधैको अभागी टोली समेत हो । उपविजेतासम्मको इतिहास बनाएको आर्मीले यो संस्करणलाई अविस्मरणीय बनाउँदै इतिहास कोर्ने लक्ष्यमा पोखराको आफनो पुरानो छविलाई पखाल्ने अनुमान छ । तेस्रो दिन मछिन्द्र क्लबले जावलाखेल युथ क्लबसँग खेल्ने खेल तालिका तय गरिएको छ । दुई विभागीय क्लब नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग डर्बी प्रतिस्पर्धा गर्दै क्र्वाटरफाईनल सेमीकरण पुरा गर्ने छ ।

गोल्डकपमा यो बाहेक भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, चर्चव्याईज क्लबले समेत क्र्वाटरफाईनलमा आफनो उपस्थिति जनाउने छन् । विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ । उपविजेता क्लबले ६ लाख १ हजार पाउने छ । क्र्वाटर फाईनलमा पराजित टोलीलाई नगद २० हजार रुपैयाँ प्रोत्साहन प्रदान गरिने क्लबले जनाएको छ। क्र्वाटरफाईनल विजेतालाई ३० हजार, त्यस्तै सेमिफाईनलमा पराजित टोलीलाई ५० हजार प्रदान गरिने क्लबले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।