आत्मघाती गोलमा अभागी सहारा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०८० मा प्रकाशित


पोखरा-दोस्रो हाफमा आत्मघाती गोलले थ्रीस्टारलाई क्वार्टरफाईनल प्रवेश गराउँदा आयोजक सहारा क्लब भने उदघाटन खेलबाट विट मार्यो । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा सहाराले पहिलो हाफमा कमब्याक गर्दै बराबरी गरेर रोमाञ्चक बनायो । तर दोस्रो हाफमा थ्रीस्टारलाई आत्मघाती गोलको उपहार दिँदा २-१ गोलले पराजित हुदै सहारा क्लबको यात्रा उदघाटनबाट अघि बढ्न सकेन् ।

खेलको ६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारले सहारालाई दबावमा राख्यो । पहिलो फ्रिकिकलाई सदुपयोग गर्ने क्रममा दिपेश आलेमगरको क्रसपासलाई थ्रीस्टारका कप्तान योगेश गुरुङले सिक्सयार्ड बक्सबाट गोल गरे । गुरुङ सहाराका गोलकिपरबाट रिफ्लेक्ट भएको बललाई उपयोग गर्दै गोल गरे । सहाराले पनि पहिलो हाफमै बराबरी गोल गर्ने अवसर भने फ्रिकिकबाट प्राप्त गर्यो ।

२३ औं मिनेटमा पाएको फ्रिकिकलाई अनुभवी खेलाडी लक्ष्मण रुचालको प्रहारलाई आशिष गुरुङले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । सहाराको पहिलो त्यो नै पहिलो मुभ थियो । तर दोस्रो हाफ सहारालाई अभिषाप बन्यो । ५९ औं मिनेटमा अनिष तामाङको आत्मघाती गोलले सहारालाई निराश मात्रै बनाएर अघिल्लो चरण प्रवेशको ढोका समेत बन्द गरायो ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको गोल्डकपको बुधबारको खेल राईजिङ स्टारले त्रिभुवन आर्मीसँग खेल्ने छ । उदघाटन समारोहलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उदघाटन गरे । क्लबले यो वर्षको सहारा सर्वोत्कृष्ठ खेलाडी पुरस्कारबाट आयुष घलानलाई सम्मान गर्यो । सम्मानपत्रसहित नगद ५० हजार प्रदान गरिएको थियो । म्यान अफ म्याच थ्रीस्टारका योगेश गुरुङ भए । अशोक परियार फ्यान अफ दि म्याच घोषित भए । पुरस्कारको प्रायोजन फोटो पत्रकार संघ कास्कीले गरेको हो ।


तस्बिर फोटो पत्रकार संघ कास्की