पोखरा-पोखरामा आयोजित मनमोहन स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको सुुदुरपश्चिम केवल ८६ रनमा अलआउट हुन पुग्यो ।
२०.२ ओभर मात्रै खेलेको सुदुरपश्चिमले २८ रनमा पहिलो विकेट गुमायो । पहिलो विकेट झरेपछि लग गुमाएको सुदुरका लागि अन्य व्याटरको उल्लेख्य योगदान भने देखिएन । मध्य क्रमका व्याटर सस्तैमा आउट भएपछि मधेशले जितको लागि सामान्य लक्ष्य पाएको थियो । ओपनर सचिन साउदले १४, विशाल विष्टले २४ रनको इनिङ खेले । सातौं नम्बरका निरन्जन गौतमले १८ रन बनाउँदै टोलीलाई उकास्ने प्रयास गरे । मधेशका धिरेन्द्र पासवानले सर्वाधिक ४ विकेट लिए । रोशन यादवले ३ विकेट लिए ।
८७ रनको लक्ष्य पछ्याएको मधेशले परिमर्जन यादवले अविजित ३० रनको योगादन गरेपछि सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्दै यु १६ को च्याम्पियन बन्यो । ओपनर प्रियान्सु कर्णले १३ रनको योगदान दिदाँ अन्यको खासै प्रभावकारी देखिएनन् । चौथो नम्बरमा आएको मोहम्मद अर्मनले २० रन हिर्काएपछि जितको आधार तयार भएको थियो । डम्बर माझीले २ विकेट लिए । धिरेन्द्र पासवान प्लेयर अफ दि म्याच घोषित भए । विजेता तथा उपविजेता टोलीलाई प्रदेश तथा जिल्ला क्रिकेट संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।