पोखरा स्पोर्ट्स अवार्डको लागि प्रदेश खेलकुद परिषदसँग सहयोगको माग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०८० मा प्रकाशित


पोखरा-आगामी बैशाखको तेस्रो साता आायोजना गर्ने आठौं संस्करणको स्पोर्टस अवार्डलाई आर्थिक सहयोग गर्न गण्डकी प्रदेश खेलकुद परिषदलाई आग्रह गरेको छ । मंगलबार मञ्चका अध्यक्ष दिननाथ बरालसहितको टोलीले प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मासँग भेटघाट गर्दै आर्थिक सहयोगको लागि प्रस्तावना पत्र हस्तान्तरण गरेको छ । हस्तान्तरणपछि सदस्य सचिव शर्माले सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । यद्यपी कस्तो खालको सहकार्य गर्ने भन्ने विषय भने खुलाईएको छैन् ।

आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने छन् ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।