पोखरा –आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । दशौंको तयारी गर्दै पोखरामा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । आयोजनासँगै सेमिफाईनल समीकरण पुरा हुदाँ कास्की, म्याग्दी, तनहुँ र बाग्लुङले अन्तिम चारको यात्रा तय गरे ।
पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धामा कास्कीले नवलपुर विरुद्धको खेल ४–० फराकिलो गोल अन्तरको जित निकाल्यो । ३३ औं मिनेटमा विक्रम गौतमले गोल गरेपछि नवलपुर विरुद्ध गोल गर्दै कास्कीले अग्रता लियो । अभिषेक थापाले खेलको दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । । उनले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।
म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले गोलमा पराजित गर्यो । निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।
आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।
शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङले ह्याट्रिक पुरा मात्रै गरेनन् उनले ४ गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गरेका थिए । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।