कास्की जिल्ला क्रिकेट संघमा रिक्त पदमा मनोनयन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ८ गते २०८१ मा प्रकाशित


पोखरा-कास्की जिल्ला क्रिकेट संघको कार्यसमितिमा रिक्त रहेको पदमा मनोनयन गरिएको छ । लामो समयसम्म रिक्त रहेको सचिवमा बर्तमान कोषाध्यक्ष विरेन पुनलाई मनोनयन गरिएको छ । कोषाध्यक्षमा दुर्गाबहादुर चन्द र सदस्यमा पूर्व कोषाध्यक्ष चन्द्रकुमार गुरुङलाई मनोनयन गरिएको छ ।

संघको शनिबार सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट रिक्त रहेको पदमा मनोनयन गरिएको हो । दुई वर्ष अघि तेस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिमा लामो समयसम्म सचिव अनुपस्थिति रहेपछि शनिबारको पाँचौ वार्षिक साधारण सभाबाट पदपूर्ति गरिएको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । उनले बर्तमान कोषाध्यक्षलाई सचिवको जिम्मेवारी दिईएको छ । कोषाध्यक्षमा सदस्य चन्द र रिक्त रहेको सदस्य पदमा भने पूर्व कोषाध्यक्ष गुरुङलाई मनोनयन गरिएको अध्यक्ष सिग्देलले बताए ।

कास्की जिल्ला क्रिकेट संघको गत आर्थिक वर्षको आम्दानी १८ लाख ७५ हजार २२६ रुपैयाँ रहेको सार्वजनिक गरेको छ । शनिबार कास्की जिल्ला क्रिकेट संघको पाँचौ वार्षिक साधारण सभामा बर्तमान कोषाध्यक्ष विरेन पुनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक गरेका हुन् ।

संघले गत आर्थिक वर्षमा नेपाल क्रिकेट संघ र पोखरा रंगाशाला क्रिकेट मैदानबाट प्राप्त शुल्कबाट आम्दानी प्राप्त गरेको थियो । संघले व्यवसायिक प्रयोजन गर्ने संस्थासँग दैनिक १५ हजार रुपैयाँ शुल्क लिने गरेको छ । लिइएको शुल्कबाट अम्पायर, मैदानको लागि आवश्यक कर्मचारी तथा स्कोर लगायतका पदाधिकारीलाई दैनिक प्रतियोगितामा भत्ता उपलब्ध गराउँदै आएको छ । संघको तथ्यांक अनुसार गत आर्थिक वर्ष मात्रै संघले ४ लाख रुपैयाँ मैदानबाट शुल्क संकलन गरेको थियो ।

संकलित शुल्कबाट संघले दुईवटा नयाँ पीच निर्माण, मैदानको मर्मत सम्भार, खेलाडीका सामान राख्ने स्टोर, भाँचिएको गेटलाई मर्मत सम्भार गरेको छ । संघले १८ लाख ७५ हजार आम्दानीमा १७ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ । संघले असार मसान्तसम्म ३ लाख १६ हजार ७७९ रुपैयाँ मौज्दात राखेको छ । अक्षयकोषमा १ लाख रुपैयाँ राखेको संघका कोषाध्यक्ष पुनको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभामा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, समाजिक व्यक्तित्व गणेशबहादुर भट्टराई, नेपाल क्रिकेट संघका पूर्व कार्यबहाक अध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सदस्य दिपक कोइराला लगायतले बोलेका थिए । साधारण सभामा दुईजना महिला क्रिकेटर सुजता थापा र सृजना पौडेललाई जनही १० हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।