लामाचौर तीज महोत्सवमा महिला तथा पुरुष भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ११ गते २०८१ मा प्रकाशित


पोखरा-नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ मा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने छ । महिलाको ११ औं सस्ंकरण र पुरुषको तेस्रो संस्करणको लमाचौर कप भलिबल प्रतियोगिता हुने छ ।

मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले भाग लिने जनाइएको छ ।

महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलको सहभागिता रहने छ ।
पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ ।

दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ ।

संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव चल्ने छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् ।

तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ । आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ ।