पोखरा-साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो । पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो । गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो । अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको थियो । पहिलो र दोस्रो सेट तुलनामा तेस्रोमा निकै सुधारिएको खेल पस्के पनि घरेलु टिमले आफ्ना समर्थकलाई निराश बनाउन पुग्यो ।
लामाचौर कपमा महिलातर्फ ११ औं संस्करण भइसक्दा २ वर्षअघि मात्र पुरुषतर्फ पनि प्रतिस्पर्धा हुन थालेको हो । पहिलो र दोस्रो संस्करणमा पनि गण्डकी र पुलिस नै फाइनल खेलेका थिए । पहिलो संस्करण भने वर्षाले बिथोलेपछि दुवै टिमले पुरस्कार बाँडेर लिएका थिए ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मंगलबारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा ४ दिनसम्म प्रतियोगितामा महिला तथा पुरुषतर्फ चार–चार टिमले भाग लिएका छन् । एपिएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमण्डले विजयी सुरुआत गरेको छ ।
महिलातर्फ उद्घाटन खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ । एपिएफले अघिल्ला दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट गुमाएको हो । उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ सेटले जितेको हो । महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लबले जित्यो । डायमण्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले बताए ।
पुरुषतर्फ पहिलो खेलमा एपिएफले ट्राभल इक्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो । एपिएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा हराएको हो । दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेलमा एपिएफ र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुने खेलकुद संयोजक शंकर केसीले बताए । राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।