पोखरा क्रिकेट क्लब फाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ११ गते २०८१ मा प्रकाशित


पोखरा-अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै पोखरा क्रिकेट क्लब क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङ क्रिकेट क्लबसँगको भेट पक्का गरेको हो ।

१५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट भएपछि पोखरा क्रिकेट क्लबको फाईनल सहज बन्यो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर कल्याण कुमाल ४, अंकित गजुरेल १, प्रविन पौडेल ५, प्रिजन श्रेष्ठ ५, प्रशान्त अधिकारी ४, सोमबहादुर थापा २ रनमा आउट भए भने मुकेश गुप्ता र अब्दुल खलिक मिया शुन्यमा आउट भए । सन्देश निउरे ८ रनमा नटआउट रहे ।

पोखराका लागि सुवाष भण्डारीले ९.२ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए । देव शाहले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए भने विजय राउत, अमन सुवेदी र सागर भुजेलले समान १÷१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २६.५ ओभरमा १५० रन बनाउदै अलआउट हुन पुग्यो । पोखराका ओपनर मुस्कान थापाले ४४ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ११ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ४४ रन बनाएका थिए । अर्जुन बुढाथोकीले ३९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए ।

यस्तै मनिश भण्डारी ५, अनिश खड्का १३, सुवाष भण्डारी १४, देव शाह ६, अमन सुवेदी ९, विजय राउत १०, सागर भुजेल ४ र रोशन पौडेल शुन्यमा आउट भए । समुन्द्र भुजेल १ रनमा नटआउट रहे । अरण्यज्योतीका लागि प्रविन पौडेलले ७ ओभरमा २७ रन खर्चदै ३ विकेट लिए । अब्दुल खलिक मियाले ६.५ ओभरमा ३० रन खर्चदै ३ विकेट लिए । प्रदिप पौडेलले २ तथा सोमबहादुर थापा र कल्याण कुमालले १÷१ विकेट लिए । कात्तिक १ गतेदेखी जारी प्रतियोगिताको उपाधि भिडन्त भोलि हुनेछ ।