सिक्किमे थण्डरबोल्ट उज्वेकिस्तानी ब्ल्याक बुल्ससँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २९ गते २०८१ मा प्रकाशित


पोखरा-दुई विदेशी टोली । पहिलो पटक पोखराको मैदानमा भिडन्त । बाजी भने उज्वेकिस्तानी टोलील ब्ल्याक बुल्सले मार्यो । भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३(० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानी टोली बुल्स २४ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ ।

पहिलो हाफमा एक गोल । दोस्रो हाफमा दुई गोल । पोखरामा गोल्डकप खेल्न आईपुगेको टोली मध्ये बलियो देखिएको उज्वेकिस्तानको टोली ब्ल्याक बुल्सले अन्तिम चारमा भने थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाईनल खेल भने नेपाल पुलिस क्लबले अपी पावर चर्च ब्वाईजसँग प्रतिस्पर्धा गर्ने छ ।

पहिलो हाफको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले गोलको खाता खोल्यो । निकै क्लोजरेन्जबाट स्लोमजोन अब्दुकोडिरोभले सेकेण्डबारमा गोल गरे । उनलाई सिक्स यार्ड बक्सभित्र सब्कात्जोन साटरोभले पासको अवसर मिलाई दिएका थिए ।

पहिलो हाफमै अग्रता लिएको उज्वेकिस्तानी टोलीले दोस्रो हाफमा अझै सुधारिएको प्रदर्शन देखायो । खेलको ७३ औं मिनेटमा बैकिल्पक खेलाडीको रुपमा मैदान छिरेका साईजमोल दभ्लातजोनोभले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि टोलीले अर्को गोल थप्दै फराकिलो जित सुनिश्चित बनायो । सब्कात्जोन साटरोभले ७५ औं मिनेटमा गोल गरे । उनको गोल टोलीको लागि अन्तिम बन्यो । खेलमा बुल्सका एलिजोन एलिजोनोभ प्लयेर अफ दि म्याच घोषित भए । सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको बुधबार पहिलो सेमिफाईनल खेल हुने छ ।