भोलिदेखि पोखरा ओपन एथलेटिक्स मिट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित


पोखरा-पोखराको खेलकुद इतिहासमै पहिलो पटक कास्की जिल्ला एथलेटिक्स संघले पोखरा ओपन एथलेटिक्स मिट २०८१को तयारीमा जुटेको छ । भोलि बिहीबारदेखि शुरु हुने ट्रयाक एण्ड फिल्डको १२ इभेण्टमा देशभरका उत्कृष्ट एथलिटहरुले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ट्रयाक तर्फ ६ र फिल्ड तर्फ ६ गरी १२ विधामा महिला तथा पुरुष एथलिटहरुले प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय प्रतियोगितापछि संघले आयोजना गरेको यो पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीको लागि समेत लिईएको छ । यसै प्रतियोगिता मार्फत साउथ एशियन एथलेटिक्स च्याम्पियनसिपको लागि समेत खेलाडी छनोट गरिने सम्भावना रहेको छ ।

ट्रयाक अन्तर्गत १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर, र एकसय गुणा चार रिलेमा महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी फिल्ड तर्फ लङजम्प, हाईजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन थ्रोमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं संघका सचिव सिद्धान्त अधिकारीले जानकारी दिए । त्यसैगरी कास्की जिल्लाभित्रका विद्यालयस्तरीय १ सय मिटर दौड प्रतिस्पर्धा गराईने संघले जनाएको छ ।प्रतिस्पर्धामा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सातै प्रदेशका झण्डै ३ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

विजेता एथलिटहरुले नगद ५ हजार, ३ हजार, २ हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट पुरष तथा महिला खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको लागि योर्स टे«निङ सेन्टर रामबजारले मुख्य प्रायोजन गरेको छ । यसैबीच खेलकुद पत्रकार मञ्च गण्डकीलाई संघले ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस्तै उदीयमान दुईजना खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ ।