पोखरामा राखेको कीर्तिमान पोखरामै बनाए नयाँ कीर्तिमान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २८ गते २०८१ मा प्रकाशित


पोखरा-त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङजम्पमा पोखरामा राखेको कीर्तिमान पोखरामै तोडेर नयाँ कीर्तिमान कायम गरेका छन् । जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा शुक्रबार शुरु भएको पोखरा ओपन एथलेटिक्स मिट २०२५ को पहिलो दिन देवानले आफनै नाममा राखेको कीर्तिमानमा सुधार गरेका हुन् ।

देवानले पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेको ७.०६ मिटर जम्प गर्दै राखेको कीर्तिमानलाई उनले पोखरामै कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । पोखरामा आयोजित राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा लङजम्प तर्फ उनले पहिलो जम्प गर्ने क्रममा ७.१० मिटर जम्प गर्दै आफनै नाममा राखेको कीर्तिमान भंग गरेका थिए । उनले त्यसपछि जम्प गर्ने क्रममा ७.१८ जम्प गर्दै नयाँ कीर्तिमान राखेका हुन् । सोही प्रतिस्पर्धामा सुशिल केसी(एपीएफ)ले ६.७६ मिटर जम्प गर्दै रजत पदक जिते । नवलपुरका नारायण चौधरीले ६.५६ मिटर जम्प गर्दै कास्य पदक जित्न सफल भए ।

महिला तर्फको प्रतिस्पर्धामा भने नेपाल पुलिसकी सीमाकुमारी चौधरीले ५.६१ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । त्यसैगरी लुुम्बिनीका निशा चौधरीले ५.४८ मिटर जम्प गरेर रजत र त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ५.४५ मिटर जम्प गर्दै कास्य पदक जित्न सफल भईन् ।
महिला एकसयमिटर दौडमा चितवनकी रेश्मा सुवेदीले स्वर्ण पदक जितिन् । उनले १२.१३ सेकेण्डको समय लगाईन । लुम्बिनीका निशा चौधरीले १२.२ सेकेण्डमा पुरा गर्दै रजतमा चिक्त बुझाईन् । नेपाल पुलिसकी सीमाकुमार चौधरीले १२.४८ सेकेण्डको समय लगाउँदै कास्य पदकमा रमाईन् ।

छात्र तर्फ १ सय मिटर दौडमा कास्कीका सुदिप भण्डारीले १०ं.९ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक जिते । कास्कीकै प्रज्वल खड्काले रजत र विबस गुरुङले कास्य पदक जिते । महिला ४ सय मिटर तर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी कालिसी चौधरीले १ मिनेट ०१.०७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भईन् । आर्मीकै धाविका निर्मला थापाले १ मिनेट ०२.०९ सेकेण्डको समय लगाउँदै रजत पदकमा चित्त बुझाईन बाध्य भईन् । सशस्त्र प्रहरी बलकी भागरथी चौधरीले १ मिनेट ०७.०१ सेकेण्डको समय लगाउँदै कास्य पदक पाईन् ।

पुरुष ४ सय मिटर प्रतिस्पर्धामा आर्मीले क्लिन स्वीप गर्यो । सोमबहादुर कुमालले स्वर्ण जित्ने क्रममा ४८.९३ सेकेण्डको समयमा पुरा गरे । प्रकाश दनुवारले ४९.९ सेकेण्डमा पुरा गर्दै रजत र ५०.५ सेकेण्डको समयमा पुरा गर्दै प्रेमबहादुर सुनारले कास्य पदक जिते ।

पुरुष हाईजम्पको प्रतिस्पर्धामा नेपाल पुलिसका विनोद रोकायाले स्वर्ण पदक जिते । उनले १.७५ मिटर उफ्रिए । कास्कीका सागर नेपालीले पनि १.७५ मिटर उफ्रिए पनि दोस्रो स्थानमा चित्त बुझाए । बागमतीका उज्वलकुमार विकले १.७ मिटर उफ्रिएर कास्य पदक पाए । महिला हाईजम्प तर्फको प्रतिस्पर्धामा भने आर्मीकी खगिता सिञ्जालीले १.४६ मिटर जम्प गर्दै स्वर्ण, आर्मीकै विन्दु थनेटले १.४३ मिटर जम्प गर्दै कास्य र सशस्त्र प्रहरी बलकी चाँदनी भट्टले १.४ मिटर जम्प गरेर कास्य पदक जित्न सफल भईन् ।