विभागीय क्लबको बर्चस्व

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०८१ मा प्रकाशित


पोखरा-त्रिभुवन आर्मीका धावक मुकेशबहादुर पालले व्यक्तिगत दोस्रो स्वर्ण जितेका छन् । उनले शनिबार पोखरा रंगशालामा भएको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । उनले दौडलाई १४ मिनेट २८.२ सेकेण्डले पुरा गर्दै स्वर्ण पदक आफनो लेखाएका हुन् । त्यसैगरी आर्मीकै गणेशसिंह रावतले १४ मिनेट ५२.४ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते । हिमालयन एलिट्सका मिङ्मारसिंगी तामाङले १४ मिनेट ५७.९ सेकेण्डमा पुरा गर्दै कास्य पदक प्राप्त गरे ।

महिला तर्फको सोही प्रतिस्पर्धामा आर्मीकी पूर्णलक्ष्मी न्यौपानले स्वर्ण पदक जितिन् । उनले १७ मिनेट ३०.१ सेकेण्डको समय लगाउँदै पुरा गरिन् । सशस्त्र प्रहरीकी आशा रावतले १८ मिनेट ००.९ सेकेण्डमा पुरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बल कै दिपा परियारले १८ मिनेट २०९ सेकेण्डको समय निकाल्दै कास्य पदक जित्न सफल भईन् ।

पुरुष तर्फको ज्याभलिन थ्रोमा आर्मीका रोहित चौधरीले स्वर्ण पदक जित्ने क्रममा ५७.७४ मिटर टाढा भाला(ज्यालभिन) फाले । आर्मीकै गजेन्द्रसिंह थापाले ५२.१८ मिटर पर फालेर रजत पदक आफनो बनाए । बागमतीका दिपेश महतोले ४८.५३ मिटर टाढा फालेर कास्य पदक जित्न सफल भएका छन् । महिला तर्फको ज्याभलिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले ४०.९४ मिटर फाल्दै स्वर्ण पदक जित्न सफल भईन् । उनले पोखरामा आयोजित एथलेटिक्स मिटमा दोस्रो स्वर्ण पदक जितेकी हुन् । त्यस्तै सशस्त्र प्रहरी बलकी सीमा थारुले ३७.४७ मिटर फाल्दै रजत पदक र सशस्त्र प्रहरीकै अप्सरा श्रेष्ठले ३४.२२ मिटर फालेर कास्य पदक जितिन् ।

पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जिते । उनले १३.५० मिटर जम्प गरेका हुन् । सशस्त्र प्रहरीका रामकुमार लामिछानेले १३.४१ मिटर जम्प गर्दै रजत पदक र नवलपरासीका पदमबहादुर महतोले १३.२१ मिटर जम्प गरेर कास्य पदक जिते । दुईसय मिटर महिला दौडमा चितवनकी रेश्मा सुवेदीले २६.०८ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यस्तै लुम्बिनीकी निशा चौधरीले २६.१८ सेकेण्डमा पुरा गर्दै रजत र त्रिभुवन आर्मीकी कालिसी चौधरीले २६.७१ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक जितिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा मधेश प्रदेशका आदेशकुमार यादवले २२.०१ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । आर्मीका निश्चल महतोले २२.३६ सेकेण्डमा पुरा गर्दै रजत र कास्कीका सुदिप भण्डारीले २२.४१ सेकेण्डमा फिनिस गर्दै कास्य पदक जिते । महिला तर्फको चार गुण एकसय रिलेमा आर्मीले स्वर्ण, सशस्त्र प्रहरीले रजत र कास्कीले कास्य पदक जित्यो । पुरुष तर्फको प्रतिस्पर्धामा आर्मीले स्वर्ण, सशस्त्रले रजत र कास्कीले कास्य पदक जित्न सफल रह्यो । विजेता खेलाडीहरुलाई विभिन्न व्यक्तित्वहरुले नगद,पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।