नवौं पिएम-एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा

- जेठ ८ गतेदेखि १५ गतेसम्म

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ७ गते २०८२ मा प्रकाशित


पोखरा-पोखरा रंगशाला परिसरमा बहुउद्देश्यीय कभर्ड हल बनेको दशकपछि पहिलो पटक नेपाल भलिबल संघले आफनो नवौं संस्करणको प्रतियोगितालाई पोखरामा आयोजना गर्ने जमर्को गरेको छ । गएको बैशाखमा लायन्स क्लबले अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता सम्पन्न गरिसकेपछि नेपाल भलिबल संघले नवौं संस्करणको प्रधानमन्त्री नेपाल भलिबल संघ(पिएम–एनभिए) महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको हो ।

कभर्ड हलभित्र आयोजना गरिने प्रतियोगिताको लागि संघले बत्ती जडान र पार्केटिङ मिलाउने कामलाई फत्ते गरेको छ । ‘पोखरा भलिबलको शहर हो । त्यसैले पनि हामीले नवौं संस्करणको यो प्रतियोगितालाई पोखरामा आयोजना गर्ने जमर्को गर्दै अन्तिम तयारीमा जुटेका हौं ।’ नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भने ।

उनले नेपालमा भलिबल खेल व्यवसायिक बन्दै गएको भन्दै प्रतियोगितामा तीन विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधानले अझ प्रतिस्पर्धा हुने विश्वास लिए ।। विदेशी खेलाडीको सहभागिताले पनि स्वदेशी खेलाडीले विदेशमा खेल्ने अवसर प्राप्त गरेको उनको भनाई थियो ।
प्रतियोगिताको लागि कभर्ड हल मर्मत सम्भार गर्न राष्ट्रिय खेलकुद परिषदले ८ लाख रुपैयाँ आर्थिक सहयोग जुटाएको भलिबल संघले जनाएको छ । पोखरामा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ टोलीले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्ने छन् ।

पुरुष तर्फ तीन विभागीय क्लब नेपाल पुलिस, सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लबसँगै कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदुरपश्चिम प्रदेश र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता जनाएका छन् । त्यसैगरी महिला तर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, न्यु डायमण्ड युथ स्पोर्टस, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेश भलिबल टिम रहेको आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा विजेता महिला तथा पुरुष टोलीले नगद ८ लाख, उपविजेता टोलीले नगद ४ लाख र तेस्रो स्थान प्राप्त गर्ने टोलीले नगद २ लाख प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीको हकमा भने ५० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ । महिला तथा पुरुष तर्फ उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाईकर र टिम प्रशिक्षकले २५÷२५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने छ । प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोगी भूमिका खेलेका छन् ।