शनिबार सडक दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २४ गते २०८२ मा प्रकाशित


पोखरा-भोलि शनिबार पोखरा महानगरपालिका वडा नं १७ मा विद्यालयस्तरीय छात्र तथा छात्रा दौड हुने छ । महानगपालिका वडा नं १७ को आर्थिक सहयोग तथा छहारी टोल विकास संस्थाको आयोजनामा वडाभित्रका विद्यालयका छात्र तथा छात्राको ३ किलोमिटर दौड हुने छ । विद्यालयस्तरीय छात्र तथा छात्रासँगै ५ किलोमिटर टोली सुधार समिति तथा युवा क्लब बीच महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरिएको छहारी टोली विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।

विद्यालयस्तरीय छात्र तथा छात्रा दौड भने आखाँ अस्पताल चोकबाट शुरु भई बरालफिड घुमेर पुन आखाँ अस्पताल चोक पुगेर टुंगिने छ । त्यस्तै पाँच किलोमिटर दौड भने आँखा अस्पतालबाट शुरु भई छोरेपाटनस्थित बी.एस पेट्रोल पम्पबाट फर्किएर पुन आँखा अस्पतालमा आएर टुंगिने छ । दौडमा विद्यालयस्तरीय प्रतियोगितामा १६० जना र पाँचकिलोमिटर दौडमा १०० जना सहभागिताको अपेक्षा गरिएको छ ।

विद्यालयस्तरीय छात्र तथा छात्रा दौड विजेता दुवैले ७ हजार ५ हजार, ३ हजार र सान्त्वना हुनेलाई जनही १ हजार रुपैयाँ प्रदान गरिने छ । पाँच किलोमिटर दौड विजेताले ५ हजार ३ हजार र २ हजार तथा सान्त्वना हुनेलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । वडा सदस्य शिवराम भण्डारीले वडाको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष दौड प्रतियोगिता आयोजना गरिएको जनाउँदै विद्यालयस्तरबाट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले एकैपटकमा खेलाडी तयार हुदैनन भन्दै विद्यालयबाट खेलाडी उत्पादनमा जोड दिइएको उल्लेख गरे । उनले वडा नं १७ खेलकुदको हब भएको समेत दावी गरे ।