पोखरा महानगर २२ औं संस्करण स्पोर्टस अवार्डको प्रवद्र्धक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १५ गते २०८२ मा प्रकाशित


पोखरा-नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २२ औं संस्करणको स्पोर्टस अवार्डलाई पोखरा महानगरपालिकाले प्रवद्र्धकको भूमिका खेल्ने छ । पोखरा महानगरपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । स्र्पोटस अवार्ड आगामी भदौ २९ गते पोखरामा आयोजना हुने जनाउँदै त्यसको लागि महानगरपालिकाले प्रवद्र्धक भूमिका खेल्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मञ्चका अध्यक्ष निराजन अधिकारी र पोखरा महानगरप्रमुख धनराज आचार्य बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्पोर्टस अवार्ड काठमाडौंपछि पहिलो पटक मञ्चले पोखरामा आयोजना गर्ने निर्णय गरेको हो । महानगरपालिकाले पनि पोखरा भ्रमण वर्ष घोषणा गरेपछि स्पोर्टस अवार्ड कार्यक्रमलाई प्रवद्र्धन गर्ने उल्लेख गरेको छ ।

महानगरपालिकाले २० लाख रुपैयाँ अवार्ड कार्यक्रमलाई सहयोग गर्ने छ । महानगरपालिकाले आफनो आर्थिक वर्षको बजेटकै रातो किताबमा १५ लाख रुपैयाँ उल्लेख गरेको छ । यद्यपी महानगरप्रमुख आचार्यले २० लाख रुपैयाँ प्रदान गर्ने उदघोष गर्नुभएको मञ्चले जनाएको छ । मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशीका अनुसार महानगरसँगको सम्झौतामा २० लाख रुपैयाँ सहयोग गर्ने उल्लेख छ । मञ्चका सचिव अन्जन खड्काका अनुसार मञ्चलाई पोखरा महानगरपालिकाको दरिलो साथकै कारण पोखरामा स्पोर्टस अवार्ड गर्ने आँट गरिएको हो । उहाँले अवार्ड कार्यक्रमले पोखरा महानगर भ्रमण वर्ष २०२५ लाई समेत योगदान पुग्ने विश्वास मञ्चले लिएको बताउनुभयो ।

एनएसजेएफ पल्सस स्पोर्टस अवार्डको मुख्य प्रायोजक गोल्छा समूहको पल्सर मोटरसाईकलले विगत १७ वर्षदेखि नियमित रुपमा साथ दिदैं आएको छ । सुर्य नेपाल, केल्मी नेपाल लगायतका कम्पनीले पनि अवार्डको सहयोगी भूमिकामा रहेको मञ्चका अध्यक्ष निराजन अधिकारीले जानकारी दिनुभयो । आगामी भदौ २९ गते हुने स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष खेलाडी महिला, पुरुष, युवा, तथा उत्कृष्ट प्रशिक्षकसहित दर्शक छनोट, लाईफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिष्ट विधामा पुरस्कृत गरिने मञ्चले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीसहित युवा, प्रशिक्षक र दर्शक छनोट विजेतालाई पल्सर मोटरसाईकल प्रदान गरिने छ । अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।