
पोखरा-जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो ।
समूह ‘बि’ को उपविजेता कावासोतीको जि.एम. समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जि.एम. समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।
यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफ समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो । समूह ‘ए’ को उपविजेता ढुंगेदेउराली हो । ढुंगेदेउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जि.एम. समाजसँग फाइनल सुनिश्चित गरेको हो । ढुंगेदेउरालीका लिफ्टर राजन दर्माली म्यान अफ दि म्याच घोषित भए ।
६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–२ खेल खेल जितेर सर्वाधिक ६ अंकका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ सेटमा र एपिएफले जि.एम.समाजलाई ३–१ सेटमै हराएको थियो । माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिन प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…