छात्र तर्फ गुरुकुल र शिशुकल्याण मावि बीच उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित


पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट

पोखरा- विहीबारदेखि पोखरा रंगशालामा विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्देशन अनुसार विद्यालयस्तरीय फुटबल प्रतियोगिताको लागि अन्तिम तयारी गर्दै छात्रा तथा छात्रको खेल तालिका सार्वजनिक गरेको छ । छात्रहरुको खेल बिहीबारदेखि शुरु भएपनि छात्राहरुको खेल भने केहीदिन पछि सञ्चालन गरिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए ।

प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रानले मुख्य प्रायोजन गरेको छ । फुटबलमा अग्रणी रहँदै आएको क्लब सहाराले नगद एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेका छन् ।

प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता रहेको छ । भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका भने १७ गतेदेखि शुरु हुने छ । लिगचरणको खेल सकिएपछि छात्राहरुको खेल सञ्चालन गरिने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

लिगकम नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गुरुकुलले शिशुकल्याण माविसँग खेल्ने छ । पोखरा रंगशालाको मुख्य मैदानमा उदघाटन हुने छ भने प्रतियोगिता रंगशालाभित्रको दुवै मैदान उपयोग गरिने संघले जनाएको छ । छात्रा तर्फ ६ विद्यालय सहभागिता रहेको छ । छात्राहरुको सार्वजनिक गरिएको अनुसार भदौ १७ गते विहान ८ बजे त्रिभुवन शान्ति नमूना माविले सेन्टमेरिज स्कुलसँग प्रतिस्पर्धा गर्ने छ । सोही दिन विहान ९ बजे नै बेसलाईन एकेडेमीले सैनिक आवासिय माविसँग खेल्ने छ ।
छात्र तर्फ समूह एमा बालकल्याण बोर्डिङ स्कुल,भद्रकाली मावि, स्नोभ्यु र शान्तिदिप रहेका छन् । समूह बीमा सैनिक आवासिय, कुमुदिनी होम्स, हेम्जा बोर्डिङ र सृजना सेकेण्डरी स्कुल रहेका छन् । समूह सीमा सोसल पब्लिक, फिष्टेल एकेडेमी, त्रिभुवन शान्ति नमूना र डायमण्ड बोर्डिङ छन् । समूह डीमा शिशुकल्याण, अल्फा बोर्डिङ, बालोदय बोर्डिङ र सिद्धीविनायक रहेका छन् । समूह ईमा कालिका मावि,सगरमाथा निकेतन, रिलायन्स पब्लिक र गण्डकी बोर्डिङ रहेका छन् । त्यस्तै समूह एफमा शान्तिनिकुञ्ज, शिशकल्याण मावि, गुरुकुल स्कुल र बेसलाईन बोर्डिङ स्कुल रहेका छन् ।

प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की विशेष सहयोगी भूमिकामा छन् ।