नेपाल मुआथाई संघको शुभकामना आदानप्रदान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ६ गते २०८२ मा प्रकाशित


पोखरा-नेपालमा मुआथाई भित्रिएको झण्डै १८ वर्ष बित्यो । खेलको शुरुवात पोखराबाट भयो । जसलाई नेपाल भित्र्याउने श्रेय दिपकबहादुर गोदारलाई जान्छ । उनै गोदारले भित्र्याएको मुआथाई १८ वर्ष बसन्त पार गर्यो । नेपाल मुआथाई संघको रुपमा दरियो ।

भित्रिएको १८ वर्षपछि पोखरामा पहिलो पटक संघले आउँदो दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो । संघमा आवद्ध भएका मुआथाई क्लबहरु एकत्रित बने । क्लबहरुले विभिन्न ठाँउमा प्रशिक्षण गराउँदै आएका छन् । उनीहरुलाईै एकत्रित गर्दै पोखरा रंगशालाभित्र मुआथाई संघले अन्य विभिन्न खेलकुद संघका पदाधिकारीसँग भाईचारा अभिबृद्धि गर्दै शुभकामना आदान प्रदान गर्यो ।
विभिन्न खेलकुद संघले दशैंको अवसरमा पारेर एउटै मञ्च मार्फत शुभकामना दिए । खेलकुदको विकासमा नयाँ आयाम होस भन्ने कामना पनि गरे । बदलिदो राजनीतिक परिवेशले सुस्ताउँदै गएको खेलकुदलाई फेरी पुनर्जागृत गराउनुपर्ने अवस्था आएको सबैले औंल्याए ।

प्रदेश खेलकुद परिषद गण्डकीका पूर्व सदस्य योगेन्द्र शेरचन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल, कास्की जिल्ला स्क्वास संघका अध्यक्ष प्रवीण पालिखे, मुआथाईका माष्टर लेभल गरेका विवेकजंग कार्कीले खेलकुदको विकासमा सबै संघहरुले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरा रंगशालाभित्र धेरै मुआथाई खेलहरु रहेको उल्लेख गर्दै सबै मुआथाई एउटै छातामुनि अट्नुपर्ने बताए । नेपाल मुआथाई संघका अध्यक्ष दिपकबहादुर गोदारले खेलकुदभित्र देखिएका विकृति र विसंगतिलाई खेल संघ र खेलाडी मिलेर हटाउनुपर्नेमा जोड दिए । पोखरामा मुआथाईको विभिन्न क्लबहरुमा गरी दुईसयभन्दा बढी खेलाडीहरु रहेका छन् ।

दिपकबहादुर गोदारकै प्रशिक्षण र नेतृत्वमा टर्की, कोरिया, हङकङ, थाईल्याण्ड लगायतका देशहरुमा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेर खेलाडीहरुले पदक समेत ल्याईसकेका छन् । प्रशिक्षक गोदारले पोखरामा शुरु गरेलगत्तै नेपाल आर्मीको रेन्जर समूहलाई समेत प्रशिक्षण गराएका थिए । पोखरा रंगशालामा गोदारसहित विजय गुरुङ, दिपेश गुरुङ तथा गण्डकी प्रदेशकी एकमात्र मुआथाई प्रशिक्षक समेत भईसकेकी ज्योति मल्लले मुआथाईको प्रशिक्षण गराउँदै आएका छन् ।