पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०८२ मा प्रकाशित


पोखरा-दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह राउतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिनेटमा पूरा गर्दा भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । किशोरले उक्त दुरी ५१ः०१ मिनेटमा पूरा गरे । उनीहरूले जनही १५ हजार प्राप्त गरे ।

वडा २२ स्तरतर्फ कुशल परियार प्रथम र सुज्जल परियार दोस्रो भए । उनीहरूले क्रमशः ४९ः१५ र ५१ः०३ मिनेटमा दूरी पूरा गरे । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवारले ५३ः३९ मिनेटमा दूरी पूरा गरी प्रथम हुँदा बागमतीकी नीतु तामाङले ५७ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोस्रो भइन् । वडा र महिलातर्फ प्रथम र दोस्रोले जनही १५ हजार र ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यू–१६ मा प्रकाश थिङ (४२ः५८) प्रथम हुँदा तीलबहादुर परियार (३८) दोस्रो भए भने कमल पौडेलले (४९ः५६) तृतीय स्थान प्राप्त गर्न सफल भए । उनीहरू सबै गण्डकीका हुन् । प्रथम, दोस्रो र तेस्रोले जनही १५ हजार, सात हजार, तीनहजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशको प्रतिनिधित्व थियो । प्रतियोगितामा नेपालका सात प्रदेश र विदेशका बेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका, स्पेन र क्यानडासहित सात देशका ११७ धावक सहभागी थिए ।

विश्व पर्यटन दिवस भएकाले दौड पूरा गरेका विदेशी धावकलाई पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाई स्वागत गरे । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्कसम्म भएको दौडमा धावकलाई स्थानीयले ठाउँ ठाउँमा स्वागत गरेका थिए । दौडको सुरुआत प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछनेले गरेका थिए ।

बुद्धपार्कमा आयोजित समापन समारोहमा विश्व कीर्तिमानी धावक तनहुँका वसन्त घिमिरे र विश्वशान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङलाई पोखरा पर्वद्धन विशिष्ट सम्मान गरियो । वसन्तको अनुपस्थितिमा उनका छोरा शक्ति घिमिरेलाई सम्मान गरिएको थियो । गत वर्ष यो सम्मान उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक लेफ्टिनेन्ट कुसान गुरुङलाई प्रदान गरिएको थियो ।

समापनमा पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्सन प्रजू, इन्द्रा मल्ल, खेम पुन, कालाबाङ घरेडी बुद्ध पार्कसमितिका अध्यक्ष राज गुरुङ (लाल), सम्मानित व्यक्तित्व विश्व शान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङ, समितिका सहसचिव एवं पूर्वप्रधानपञ्च दुर्गाबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, शुक्रराज माविका प्राचार्य नरनाथ बराल, पोखरा २२ वडा युवा परिषद्का अध्यक्ष दिनेश बराललगायतले पुरस्कार वितरण गरे ।

Pic- Durga Paudel