पोखरा रंगशालामा शुक्रबार नेपथ्यको संगितीक कार्यक्रम

- कुहिएको डेकसिटमा उफ्रिदा अप्रिय घटना हुन्छ कि भन्नेमा चिन्ता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित


कास्की-नेपथ्य व्याण्डले झण्डै एकदशकपछि पोखरा रंगशाला फुटबल मैदानमा फेरी एकपटक सांगितीक कार्यक्रम गर्ने जमर्को गरेको छ । यही कार्तिक २१ गते शुक्रबारको दिन दुई घण्टा सांगितीक माहोल जमाउने छ । नेपथ्यलाई पोखरा रंगशाला फुटबल मैदानमा सांगितीक कार्यक्रमको लागि पोखरा एभेन्जर्सले पहल गरेको हो । क्रिकेटको लागि नेपथ्य भन्ने नारा तय गरिएको छ । सांगितीक कार्यक्रमको टिकटको केही हिस्सा जिल्ला खेलकुद विकास समिति कास्कीलाई प्रदान गरिने सम्झौता भएको छ । प्राप्त रकम पोखरा रंगशालाको भौतिक पूर्वाधार मर्मत सम्भारमा खर्च गरिने छ ।

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने क्रिकेटको फ्रेन्चाईज टोली मध्येको एक हो । जसले पोखरा रंगशालामा नेपथ्य व्याण्ड मार्फत सांगितीक कार्यक्रम गरी कास्कीको खेलकुदमा टेवा पुर्याउने उद्देश्य राखिएको छ । एकसाता भन्दा कम समयकै कारण हतारिएर कार्यक्रम गर्नुपर्ने बाध्यता छ । अर्कोतिर नेपथ्यको गीत र गायक अमृत गुरुङको सुमधर स्वर सुन्न सबै लालायित छन् । यद्यपी पोखरा एभेन्जर्सले केवल ८ हजार दर्शक मात्रै रंगशालाको फुटबल मैदान प्रवेश गराउने छ ।

नेपथ्यको पोखरा रंगशालाभित्र गरिने यो दोस्रो सांगितीक कार्यक्रम हो । यसअघि आठ वर्ष अघि नेपथ्यले पोखरा रंगशालाको फुटबल मैदानमा सांगितीक कार्यक्रम गरेको थियो । नेपथ्य भन्दा तीन दशक अघि नमस्ते व्याण्ड (सन १९९२÷९३ ताका)ले सांगितीक कार्यक्रम गरेको थियो । सांगितीक क्षेत्रमा नेपथ्यको प्रस्तुती सुन्ने र हेर्ने अवसर पाईरहँदा खेलकुद क्षेत्रले पनि पूर्वाधार बिग्रिन्छ कि भन्ने चिन्ता गर्न थालेका छन् ।
जिल्ला खेलकुद विकास समिति कास्की कार्यालयका नायब सुब्बा डम्बरबहादुर नेपाली(डि.बी)ले नेपथ्यको सम्झौता अनुसार ८ हजार दर्शकलाई मात्रै प्रवेश गराईने जानकारी दिनुभयो । सम्झौतामा उल्लेख भए अनुसार फुटबल मैदानमा म्याट ओछ्याईने छ । “आठ हजार दर्शकलाई प्रवेश गराईने छ ।” उहाँले भन्नुभयो—“प्रवेश गराइएको मध्ये ४ हजार दर्शकको प्रतिदर्शक दुई सय रुपैयाँ खेलकुद समितिलाई, एक सय रुपैयाँ सामुदायिक विद्यालयको लागि छुट्टाईने छ ।” दुई सय रुपैयाँले खेलकुद विकास समिति कास्कीलाई ८ लाख रुपैयाँ प्राप्त हुने छ ।

उहाँले सम्झौता अनुसार पोखरा एभेन्जर्सले प्रतिटिकट १५ सय रुपैयाँ लिने छ । १५ सय रुपैयाँ तिरेपछि दर्शकले पोखरा एभेन्जर्सको टिसर्ट प्राप्त गर्ने छन् । त्यही टिसर्ट देखाएर संािगतीक कार्यक्रममा प्रवेश पाउने उहाँले बताउनुभयो । विद्यार्थीलाई एकहजारमा टिसर्ट उपलब्ध गराइने छ । पोखरा एभेन्जर्सका शुभचिन्तक समेत रहेको एक क्रिकेटरले दुईहजार भिआईपी पास, दुईहजार विद्यार्थी र ४ हजार दर्शकले प्रवेश पाउने छनन् । उहाँले रंगशालाभित्र पूर्वाधार मर्मत सम्भार गर्न सरकारको तर्फबाट बजेट नआउँदा आन्तरिक स्रोत र पूर्वाधार प्रयोग वापत शुल्क निर्धारण गरिएको सुनाउनुभयो । विभिन्न व्यवसायिक संघसंस्थासँग पूर्वाधार प्रयोग वापत शुल्क उठाएर नै कार्यालयको खर्च व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

यता खेलकर्मीहरुले भने रंगाशलाभित्र खेलकुद कम भएको मात्रै नभई भएका खेलाडीले पनि भएका पूर्वाधारमा पर्याप्त प्रशिक्षण गर्नबाट बञ्चित हुनुपरेको गुनासो गर्दै आएका छन् । “रंगाशालामा खेलाडीले खेल्न पाउनुुपर्छ । खेलाडीको नैसर्गिक अधिकार हो । तर खेलाडीलाई खेल्नबाट बञ्चित गराईन्छ । चावी लगाएर राखिन्छ ।” खेलाडीहरुको गुनासो थियो —“पूर्वाधार बनाएर खेलाडीलाई भन्दा अन्यलाई फाईदा भएको छ ।” भोलि त्यही पूर्वाधार मर्मत सम्भार गर्न जिल्ला खेलकुद विकास समितिले सांगितीक कार्यक्रम गर्न स्वीकृति दिएवापत पाएको पैसाले नपुग्ने समेत गुनासो खेलाडीहरुको थियो ।

पोखरा रंगशालाको फुटबल मैदान, प्यारापिट, सिन्थेटिक ट्रयाकको लागि एक अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ । अहिले प्यारापिट मर्मत सम्भार भईरहेको छ । प्यारापिट मर्मत सम्भार गरिहँदा जिल्ला खेलकुद विकास समिति कास्कीले गैर जिम्मेवारी बन्दै सांगितीक कार्यक्रमको लागि दिन नहुने समेत खेलाडीहरुको गुनासो थियो । कार्यक्रमलाई दिएपनि प्यारापिट मर्मत सम्भार गरेपछि दिएको भए उपयुक्त हुने सुझाव पनि खेलकर्मीले दिएका छन् ।

प्यारापिटका कुहिएको प्लाईको डेकसिट फेरिदैं छ । केही हिस्सा मात्रै फेरिएको छ । “प्यारापिट मर्मत भईरहँदा सांगितीक कार्यक्रममा दर्शक प्यारापिटमा उक्लिएर उफ्रिदाँ दुर्घटना निम्तन सक्छ । त्यस तर्फ सचेत हुन जरुरी छ ।” कम्पनीका प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बरालले बताउनुभयो । उहाँ अनुसार कुहिएको प्लाईका डेकसिट माथि सांगितीक जोसमा उफ्रिदाँ अप्रिय घटना घटन सक्छ, त्यस तर्फ खेलकुद समिति र आयोजक सचेत बन्नुपर्छ । उहाँले दर्शकको भीडभाडले नेपालकै उत्कृष्ट सिन्थेटिक ट्रयाक बिग्रिन सक्नेमा समेत चिन्ता व्यक्त गर्नुभयो । “पूर्वाधारलाई संरक्षण गर्ने प्रतिबद्धतासहित र बिग्रिए वा क्षति भए आयोजकले मर्मत सम्भार गर्नुपर्ने शर्तसहित दिनुपर्छ । नेपथ्यको सांगिती कार्यक्रममा भीडभाड बढी हुन्छ । । त्यसतर्फ सचेत हुनैपर्छ ।” उहाँको भनाई थियो । सिन्थेटिक ट्रयाकको लागत मात्रै ८ करोड रुपैयाँ हो । आठलाखको लोभमा आठ करोडको ट्रयाकमा क्षति पुग्न नहुने जिकिर उहाँको थियो ।