शनिबार पोखरा टेन के रोड रेस

- दौड पुरा गर्ने सबै धावकलाई पदक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २८ गते २०८२ मा प्रकाशित


पोखरा-शनिबार पोखरामा दशकिलोमिटर सडक दौड(पोखरा टेन के रन) हुदैं छ । एथलेटिक्स संघ कास्कीले पहिलो पटक सडक दौड सम्पन्न गर्ने संघारमा छ । पोखरा मात्रै एउटा यस्तो शहर हो जहाँ म्याराथन, हाफ म्याराथन र टन के रोड रेस हुदैं छ ।

एथलेटिक्स खेल मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्ेश्यसहित संघले पोखरा टेन के रोड रेस गर्दै छ । रोड रेस पुरा गर्ने सबै धावकहरुलाई पदक प्रदान गर्ने निर्णय समेत कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ । गत वर्ष पोखरा ओपन एथलेटिक्स मिट सम्पन्न गरेको संघले ट्रयाक एण्ड फिल्ड तथा रोड रेस गर्ने योजना अघि सार्दै पोखरा टेन के रोड रेसको परिकल्पना गरेको हो ।

महिला तथा पुरुष टेन के रोड रेससँगै विद्यार्थी बीचको प्रतिस्पर्धा छात्र तथा छात्रा ५ किलोमिटर दौडलाई समावेश गरिएको छ । पोखरा टेन के रोड रेसमा पुरुष तर्फ ४ सय १०, महिला तर्फ ५० जना भन्दा बढीको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले जानकारी दिनुभयो । पाँच किलोमिटर दौडमा छात्र तथा छात्रा गरी ७ सय १६ जना सहभागि रहेका छन् । संघले प्रतियोगितामा १२ सय धावकलाई समावेश गर्ने निर्णय अनुसार दर्ता गरेको जनाएको छ । नेपाली सेनाका ३० र नेपाल प्रहरीका २२ धावकले सहभागिता जनाउने छन् । प्रतियोगितामा संस्थागत भन्दा पनि व्यक्तिगत सहभागिता बढी रहेको छ ।

“सहभागि सबै धावकहरुको विमा गरेका छौं ।” संंघका अध्यक्ष गजबहादुर गुरुङले भन्नुभयो—“दौडको समयमा घाईते भएका खेलाडीले ५ लाख रुपैयाँसम्मको उपचारको सुविधा पाउने छन् ।” एग्रो थाई फुड्स प्रालि नेपालको उत्पादन एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा महिला तथा पुरुष टेन के रोड रेस विजेतालाई नगद २०, १५, १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिने छ । विद्यालयस्तरीय पाँचकिलोमिटर दौड विजेता छात्र तथा छात्राले नगद १०, ७, ५, ३ र दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् । दौड पुरा गर्ने सबै धावकलाई पदक प्रदान गरिने छ ।

महिला तथा पुरुष १० किलोमिटर दौडमा विजेतासँगै कास्की जिल्ला एथलेटिक्स संघले पोखरा च्याम्पियन समेत घोषणा गरेर नगद पुरस्कार प्रदान गर्ने जमर्को गरेको छ । संघका सचिव अधिकारीका अनुसार उत्कृष्ट तीनलाई नगद पुरस्कार प्रदान गरिने छ । चार विधाका दौड पुरा गर्ने २५ धावकलाइ उपहार समेत प्रदान गरिने छ । प्रतियोगिताका १७ लाख रुपैयाँ खर्च हुने अनुमान संघले गरेको छ ।